पाटन । ललितपुर महानगरपालिकाभित्र अपांगतामैत्री सवारीसाधान सञ्चालनमा आएको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठलाई बहुअपांगता भएका व्यक्तिको हितमा एक क्याब व्यवस्था गरिदिएर सोको साँचो हस्तान्तरण गरे। सो सवारीसाधन दैनिक सञ्चालन गर्न चाहिने एक चालक, इन्धन, सवारी बीमा, ब्लु बुक नविकरण आदिका खर्च महानगरपालिकाले सबै व्यहोर्ने महर्जनले जानकारी गराए ।
केन्द्र ललितपुरका अध्यक्ष श्रेष्ठले सो अपांगतामैत्री सवारी साधन अर्थात क्याब महानगरपालिकाभित्र रातो र निलो अपांगता परिचयपत्र प्राप्त व्यक्तिका जुनसुकै आवश्यक काम पर्दा लान र लैजान प्रयोग गरिने भनाइ राखे ।
महानगरपालिकाभित्र हालसम्म कूल ५५२ ले अपागंताको परिचयपत्र लिइसकेका छन् । जस्मा मात्र बहुअपांगता भएकाले यस सवारीसाधन प्रयोग गर्न पाउनेछन् । महानगरपालिका कार्यालयमा एक बस्ने कक्ष, तलमाथि गर्न लिफ्ट, अपांगतामैत्री शौचालय, बगैंचा, फुटपाथ र सवारीसाधनसमेत उपलब्ध रहेको उनले औंल्याए ।
सो सवारीसाधन नेपालमा पहिलोपटक भित्रिएको र यसको खरिदका लागि महानगरपालिकाले २० लाख, केन्द्र ललितपुरले तीन लाख ५० हजार र इरुका इन्डिपेन्डेन्ट लिभिङ्गले १६ लाख ७५ हजार रकम खर्च गरेको जानकारी दिइएको छ । सो क्याबमा चार जना ह्वीलचेयरसहित पछाडि र अगाडि बस्न मिल्छ ।
बहुअपांगता भएका व्यक्ति सविना डङ्गोल, सञ्जु महर्जन र उदयबहादुर पौडेललाई महानगरपालिका पाङ्गणबाट केन्द्रको कार्यालयसम्म सवारीसाधन चढाएर सञ्चालनमा ल्याइएको थियो ।