पालिका खबर

उत्कृष्ट काम गर्ने ३४ जना ट्राफिक प्रहरी सम्मानित

काठमाडाैं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा नपरी जिम्मेवारी निर्वाह गर्ने एक प्रहरी नायव निरीक्षकसहित ३४ जना ट्राफिक प्रहरीलाई सम्मान गरेको छ ।

सम्मानित हुनेमध्ये ७ जनालाई नगदसहित वृत्ति विकासमा सहयोग पुग्ने गरी पुरस्कृत गरेको महाशाखाले जनाएको छ । पुरस्कृत हुनेहरुमा प्रहरी हवल्दार भीम बहादुर बोहोरा र बसन्त कुमार गौतम, प्रहरी जवानहरु विनोद खनाल, अजय सुनार, राजेश कोइरी, लाल बहादुर बि.क.र शंकर कुमार पन्त रहेका छन् ।

‘नेपाल प्रहरी संगठनले अख्तियार गरेको आर्थिक शून्य सहनशिलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लंघन गर्ने कुनै पनि चालकहरूको प्रलोभनमा नपर्न हामीले नियमित ब्रिफिङ्ग एवम् निर्देशन दिँदै आएका छौं,’ महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले भने, ‘फलस्वरुप घुस दिन खोज्ने १ सय ३६ जना चालकहरुलाई पक्राउ गरी कारबाही पनि गरेका छौं ।’

ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूले कारबाहीबाट बच्न र कारबाहीपश्चात हुने प्रक्रिया झन्झटिलो मानेर ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने महाशाखाका ट्राफिक प्रहरी बताउँछन् ।

प्रलोभनमा नपरी त्यस्ता चालकहरुलाई कारबाहीको दायरामा ल्याई आफ्नो जिम्मेवारीलाई पूर्णरूपमा निर्वाह गरी संगठनको छवि उच्च राख्ने ट्राफिक प्रहरीलाई सम्मान एवं पुरस्कृत गरिएको भट्टराईले जानकारी दिए ।

आम सवारी चालकहरूलाई ट्राफिक नियमको पुर्ण पालना गर्न र उल्लंघनपश्चात हुने कारबाहीबाट बच्न ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्ने प्रयास नगर्न महाशाखाले आग्रह समेत गरेको छ ।

यस प्रकारका गलत संस्कारले नियम नमान्ने परिपाटीमा थप बल पुग्नुको साथै समग्र सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा समेत असर गर्ने महाशाखाको बुझाइ छ ।

यसरी आर्थिक पारदर्शीता एव सुन्य शहनसिलता कायम गर्न र प्रलोभनमा पार्न खोज्ने चालकहरुलाई कारबाहीको दायरामा ल्याउनेलाई पुरस्कृत एवम् सम्मान गर्ने कार्यले अन्य प्रहरी कर्मचारीहरूमा समेत सकारात्मक उत्प्रेरणा जगाउने महाशाखाको विश्वास छ ।

चालु आर्थिकवर्षमा आर्थिक प्रलोभनमा पार्न खोज्ने १ सय ३६ जना सवारी चालकहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने ९३ जना प्रहरी कर्मचारीलाई महाशाखाले पुरस्कार एवम् प्रशंसापत्रद्वारा सम्मान गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *