पालिका खबर

आठ दिनपछि अवरोध हट्यो, अब उपत्यकाको फोहर उठ्ने


काठमाडौं । काठमाडौं महानगरपालिका र ल्याण्डफिल साइट प्रभावित स्थानीयसँगको छलफलपछि आज आठ दिनपछि फोहर विसर्जनमा गरिएको अवरोध हटेको छ ।

नुवाकोटको सिसडोल ल्याण्डफिल साइटका प्रभावित क्षेत्रका शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीयले विभिन्न माग राख्दै यही चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहर व्यवस्थापनमा रोक लगाएपछि काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनमा समस्या भएको थियो ।

लामो समयको अवरोधपछि आज महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहितको छलफलमा पीडित पक्षको माग पूरा गर्ने प्रतिबद्धतापछि फोहोर विसर्जनमा गरेको अवरोध खुला गर्न उनीहरु सहमत भएका हुन् ।

प्रमुख शाक्यले छलफलमा आफूहरुले गरेका प्रतिबद्धता कार्यपालिका बैठक बसी पूरा गर्ने बताए ।

स्वास्थ्यसम्बन्धीका बुँदामा थप छलफल गरी अघि बढ्न सकिने उनको भनाइ थियो ।

प्रभावित क्षेत्रमै अस्पताल बनाउने हो कि वडाको सिफारिसमा काठमाडौँको अस्पतालमार्फत सेवा उपलब्ध गराउने त्यो विषयमा प्रष्ट धारण बनाएर आउन प्रमुख शाक्यले आग्रह गरे ।

धुनिवेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले काठमाडौंले पूर्वाधार विकासका लागि दिने भनेको सहयोगको प्रशंसा गरे ।

छलफलमा सहभागी ककनी गाउँपालिका–३ का अध्यक्ष घननाथ बजगाईँले आफूहरुको माग पूरा भएपछि फोहोर विसर्जनको अवरोध हटेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *