काठमाडौं । बागमती प्रदेशसभाको बैठक चैत २४ गतेका लागि बोलाइएको छ । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता भएपछि सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक बोलाएका हुन् ।
मुख्यमन्त्री पौडेलविरुद्ध तत्कालीन नेकपाका कायकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधव नेपाल समूहले अविश्वास प्रस्ताव पेश गरेपछि प्रदेशसभा बैठक अनिश्चित बनेको थियो ।
२३ फागुनमा सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताएसँगै मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव गर्ने सांसदहरु नै विभाजित बन्न पुगे ।
यसपछि एमाले संसदीय दलको निर्देशनमा एमाले सांसदहरुले अविश्वास प्रस्तावबाट नाम फिर्ता लिइसकेका छन् । मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमाथि प्रदेशसभामा छलफल हुन पाएन ।
फागुन ५ गतेका लागि बोलाइएको प्रदेशसभा बैठक सुचना टाँसेर अनिश्चितकालका लागि स्थगित गरिएको थियो । माधव नेपाल पक्षले देशभरि नै समानन्तर कमिटी निर्माण गर्ने बताए पनि बागमती प्रदेशका एमाले सांसदहरुले पार्टीलाई एकतावद्ध बनाउन जोड दिइरहेको एमालेको स्थायी समिति सदस्यसमेत रहेकी शाक्यको भनाइ छ ।
एमाले सांसदहरुले अविश्वास प्रस्ताव फिर्ता लिएपछि मुख्यमन्त्री पाडेलको पद सुरक्षित भएको छ । मुख्यमन्त्रीको वैकल्पिक उम्मेद्वारमा अष्टलक्ष्मी रहेकी थिइन् । प्रदेशसभा बैठक बस्ने भएपछि उनले सो बैठकमा आफूपक्षका सबै सांसद सहभागी हुने प्रतिक्रिया दिएकी छिन् ।