Top News जीवन यात्रा

जिवनयात्रा : एक इमान्दार कर्मयोगी इमनारायण


लक्ष्यमा निर्दिष्ठ भएर लाग्ने कर्मयोगी मात्र सफलताको असली हकदार हुन्छ । कुनै पनि काम आफैमा ठुलो र सानो हुदैन । यदि कसैले त्यो ठान्छ भने त्यो दृष्टीभ्रम हो । जिवन आफैमा एउटा ठुलो पाठशाला हो । जहाँ साना तिना कुराले पनि जिवनको लय र दिशा निर्धारण गर्न सक्छ ।
यस्तै उन्नत सोच राख्ने मध्येका एक हुन शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उप( महानिर्देशक इमनारायण श्रेष्ठ ।

शिक्षा आफैमा जिवनको ज्योति हो । त्यहि प्राज्ञिक जगतको उच्च तहमा पुग्नुको पछाडी श्रेष्ठका कैयन संघर्ष कथा साक्षी छन ।
२०२४ सालमा पिता लालबहादुर र माता सिलकुमारीको कोखबाट पाल्पाको दर्छामा सामान्य किसान परिवारमा जन्मिएका श्रेष्ठ सानैदेखि जेहेन्दार थिए । घर नजिकैको राम तुलसी मावीमा कक्षा १० सम्म र त्यसपछि पाल्पाको त्रिभुवन बहुमुखी क्यम्पसमा आइएसी पढदासम्म पनि कहिल्यै दोस्रो हुनु परेन ।

कृषि विज्ञ बन्ने सपना थियो तर परिस्थितिबश जिन्दगीले अर्कै मोड लियो तर लक्ष्यमा उनी कहिल्यै विचलित भएनन । परिश्रमको त्यहि प्रतिफल थियो स्नातक र स्नातकोत्तर तहमा दुइ पटक सम्म स्वर्ण पदक हात पार्नु ।

सानैमा मातृवियोग खेप्नुपरेपनि पिताको प्रेरणाले उनको शैक्षिक जग मजवुत बन्न सघाएको हो । ठेस लाग्दैमा विचलित हुने होइन कि त्यहिबाट नयाँ संभावनाको उज्यालो क्षितिज पैल्याउनुपर्छ । उनको जिवन संघर्षले यहि सिकाएको छ ।

शिक्षण पेशामा लगाव भएकैले प्राध्यापन रोजाइ थियो तर त्यहि बेला खुलेको लोकसेवाले गणित विज्ञको रुपमा सेवा प्रवेश गरायो । जागरिको दौडानमा देश विदेश पुगेपनि आफ्नो जिम्मेवारी प्रति सधै प्रतिबद्ध रहिरहे ।


गणित विशेषज्ञदेखि सहसचिव सम्मको यात्रामा प्राप्त महत्वपूर्ण जिम्मेवारीलाई कुशलता पूर्वक सम्हाल्दै अघि बढे । उनको जिवनको सबभन्दा सन्तुष्टीको पाटो त्यही हो ।

शैक्षिक क्षेत्रमा भएकै हिसावले यहाँ भित्रका समस्या प्रति उनी चिन्तित छन । पछिल्लो समय शिक्षाको पहूच अधिकाशमा पुगेपनि गुणस्तरीय शिक्षा अहिलेको खडकिदो विषय हो ।

आफु जुन ठाँउमा भएपनि पहिलो पाइला टेकेको माटोको सुवासप्रति उनी सम्मोहित छन । त्यही माटोले फुल्न र फल्न सिकायो । त्यसैले उनलाइ लाग्छ जसले माटो विर्सिन्छ । उसले सबै कुरा विर्सिन्छ ।

जिन्दगीका यिनै याम र अवयव छिचोल्दै यहाँसम्म आइपुगेका उन्लाई फर्केर हेर्दा लाग्छ । दृढ अठोट । सकारात्मक सोच र मेहनत पछिको सफलता भन्दा मिठो प्रतिफल जिन्दगीमा अर्को कुनै छैन ।

प्रतिकुलतामा पनि अवसर देख्ने सकारात्मक सोचका धनि यिनै सत्पात्रको जिवन कथा एक इमान्दार कर्मयोगीको कथा हो । लक्ष्यमा विचलित भएर जिवनको सौन्दर्य कमजोर नबनाउन उनको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *