Featured Slider Top News जीवन यात्रा

जीवन यात्रा : किसानको परिवारमा जन्मिएर एक महान डाक्टर

अनेक घुम्तिहरु छल्दै,नाघेर गौडा गल्छेडाहरु निर्दिष्ट लक्ष्यमा पुग्न अनवरत चलिरहेका पाइलाहरु । यात्रामा आइपर्ने आरोह अवरोह तथा जंघारहरुले अझै साहस र उर्जा थपिएजस्तै जीवन यात्राका अनेक मोडले पाइला अघि बढाउन प्रेरणा दिएको हुन्छ । जिवन आशाको त्यान्द्रो पनि हो ।

अफ्ठेरोसँग जुध्न र लडनका लागि त्यही आशाको त्यान्द्रोले प्रेरणा र उर्जा भरिरहेको हुन्छ । सिन्धुपाल्चोकको मेलम्चीमा एउटा किसान परिवारमा जन्मिएको ब्यक्ती जो भागिरथ मेहनत र परिश्रमबाट आज देशकै नामुद हाड जोर्नी विशेषज्ञ चिकित्सक बनेको छ । त्यति मात्र नभइ अन्तराष्ट्रिय स्तरको ग्राण्डी अस्पतालको मेडिकल डाइरेक्टरको हैसियतमा पुगेको ब्यक्ती अर्थात चक्राराज पाण्डे ।

२०२० सालको कोजाग्रत पूंर्णिमाको दिन बाबु सत्यचन्द्रप्रसाद पाण्डे र आमा विष्णु पाण्डेको कोखबाट जन्मिएका चक्रराज पाण्डेको विद्यालय शिक्षा कहिले घर नजिकैको विद्यालय त कहिले काठमाण्डौ गरेर वित्यो ।
देशमा परिवर्तनका लागि आन्दोलन चलेका बेला २०३६ सालमा अमृत साइन्स कलेजमा भर्ना भएका उनी चिकित्सा शास्त्र अध्ययनका लागि २०४१ सालमा टर्की पुगे ।

छात्रबृतिका दुइ चरणबाट हाडजोर्नी सम्बन्धी विशेषज्ञको योग्यता बोकेर २०५४ सालमा नेपाल फर्किएपछि उनी निरन्तर विरामीका साथमा छन । विरामीका लागि अस्पताल मन्दिर र डाक्टर भगवान जस्तै हुन । तर पाण्डे भन्छन विरामीकै आशिर्वादले म यहाँसम्म आइपुगेको हु ।

आरोहण शुरु गर्ने सबै सगरमाथाको चुली चुमेका हुदैनन । प्रतिकुल अवस्थासँग जुध्ने सामर्थ्य नराख्नेहरु धुरीमा पुग्न सक्दैनन । इमान्दारीपूर्वक निरन्तर संघर्ष गरिरहने हो भने सफलता अवश्य उसकै पोल्टामा पर्छ ।

उनको बुझाइमा जति जटिल बनायो त्यती नै कठिन बन्दै जान्छ जिवन यात्रा । पैसाकै पछि लागेर बेफुर्स्दिलो बनेका मान्छेहरुले जिवनको स्वाद विर्सिसकेका हुन्छन । उनी भन्छन संघर्षमा धैर्य टुटेन भने लक्ष्य भेटन कठिन छैन ।

अनेक आरोह अवरोह पार गर्दै हाल ग्राण्डी अन्तराष्ट्रिय अस्पतालको मेडिकल डाइरेक्टर तथा हाडजोर्नी विभाग प्रमुख रहेका पाण्डे जीवनको लय सरल र सरस बनाउन चाहन्छन । सकारात्मक सोचलाई परिवर्तनको सम्बाहक मान्ने उनको जिवनप्रतिको दृष्टीकोण पनि फरक छ ।
स्वास्थ्य धनम सर्वधन प्रधानम अर्थात स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो । चिकित्सा क्षेत्रको अढाइ दशक लामो अनुभवमा यो नै सबैभन्दा महत्वपुर्ण बुझाइ हो । जीवनलाई जति सरल बनाउन सकियो त्यति रसिलो हुन्छ । मिठो बोली,प्रेमपूर्ण ब्यवहार अनि स्वस्थ्य भोजन यिनै कुराको उचित सन्तुलन मिलेमा जिवन ज्योतर्मय बन्छ भने अन्यथा आफ्नै लय विराएर अबाटोमा पनि मेलिन सक्छ जिन्दगी ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *