Top News जीवन यात्रा

राष्ट्रिय योजना आयोगको पुर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेलको जीवन यात्रा


जीवन,भोगाइका अनेक कथा श्रृखलाको संग्रह जस्तै हो । जोसँग अरुलाई सुनाउने कथा हुदैनन । उसको जीवन अपुरै रहन्छ । सुख दुख सजिला अफ्ठेरा भोगाइको इन्द्रेणी नै जीवनको परिभाषा हो ।
२००७ साल । फागुन सात गते । सदियौ बर्ष लामो निरंकुशताको कालोबादल फारेर देशमा प्रजातन्त्रको घाम उदाएको दिन । मुलुकमा परिवर्तनको नयाँ अध्याय आरम्भ भएको विहान । त्यहि दिन तनहुको ब्यास नगरपालिकास्थित राम्चेमा जन्मिएका हुन जगदिशचन्द्र पोखरेल ।
सकारात्मक सोच र दृष्टिकोणकै कारण संघर्षको पर्वतारोहणमा चुली चुमेका उनी सात दशकको उमेरमा पनि उत्तिकै तरो ताजा र तन्दुरुष्त छन । अवकाशप्राप्त जिवनशैली पनि उत्तीकै लोभलाग्दो छ ।

घर बलियो हुन जग बलियो हुनुपर्छ भने झै पोखरेलका शाखा सन्तान आजको हैसियतमा हुन उनका बाबु गोबर्धन पोखरेलको भूमिका महत्वपूर्ण छ । मातापीता सानैमा वितेपछि हजुरआमाको भरणपोषणमा हुर्किएका उनका बाबु राणा विरोधी अभियानका सतिसाल थिए । बाबु ब्यवस्था बिरुद्धमा हुदा परिवारले राज्यपक्षवाट झेलेको दुख र हैरानी कहिसाध्य छैन ।

काँग्रेसी मोर्चाबाट आन्दोलनमा होमिएका उनक बाबु पन्चायती ब्यवस्थामा पनि निशाना बन्नु स्वभाविकै थियो । त्यसैकारण घरमा बस्न नसकेर बाबु भारत निर्वासन भएको केहि समयपछि जगदिश पनि बनारस पुगे । अनि त्यहिबाट शुरु भयो नेपाली राजनीतिका धरोहर विपि कोइराला गणेशमान सिंह अनि कृष्णप्रसाद भट्टराइसँगको संगत ।

बाबु राजनीतिमा लागेका कारण यस्ता शिखर ब्यक्तित्वको छत्रछाया छहारी र अविभावकत्वले उनको संघर्षको मोडले सहि दिशा पक्रिन सक्यो । आइएसी अध्ययन पुरा गरेपछि विपी तथा किशुनजीकै सल्लाहमा नेपाल फर्किएका उनी सन १९७१ को मे मा आर्कीटेक्चर इन्जीनियर पढनका लागि ग्रिस पुगे ।
आठ बर्षको अध्ययन पुरा गरि नेपाल फर्किएर पुल्चोक इन्जिनियरीङ कलेजमा जागिर शूरु गरेपनि थप अध्ययनका लागि ठुला विश्वविद्यलयको यात्रा दोहोरिइरह्यो ।

अमेरिकाबाट पीएचडी तथा पोस्ट डक्टरेट सकेर नेपाल फर्किदा पन्चायती ब्यवस्था ढलेर बहुदलीय ब्यवस्थाको अभ्यासमा थियो देश । नेपाल फर्किए लगत्तै प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको सल्लाहकारको प्रस्ताव भएपनि अस्विकार गरेका उनी त्यसपछि लामो समय युएनडिपी लगायत निकायमा कन्सलटेन्टको रुपमा काम गरे ।
त्यहि सिलसिलामा २०५६ सालमा डा रामशरण महत उपाध्यक्ष हुदा राष्ट्रिय योजना आयोगको सदस्य बनेका उनी पछि छुट्टा छुट्टै समयमा आयोगको दुइपटक उपाध्यक्ष बने ।

आफुले अध्य्यन गरेको विषय कार्यान्वयन गर्ने ठाउमा पुगेर राष्ट्रका लागि योगदान पुर्याउन पाउनु उनका लागि सबैभन्दा खुशीको समय बन्यो । २ पटक उपाध्यक्ष सहित ९ बर्ष आयोगमा विताएका उनी आफू नेतृत्वमा हुदा मुलुकको विकास तथा भौतिक पुर्वाधार क्षेत्रमा उल्लेख्य काम गर्न सकेकोमा सन्तुष्ट छन ।

दशक लामो शसस्त्र द्वन्दपछि फेरिएको ब्यवस्था अनि त्यसै अध्यायको शुरुवातमा देशकै विकास निर्माणको खाका कोर्ने आयोगको नेतृत्वमा हुदा त्यो समयले देशलाइ उपहार दिएको ठुलो योजना कर्णाली राजमार्ग पनि हो । कर्णालीमा घाम पनि अस्ताउन मात्र आइपुग्छ भन्ने भनाइका विच राजमार्ग जोडदाको समय उनका लागि जीवनकै सर्वाधिक खुशीको क्षण हो ।

आज यहासम्म आइपुग्दाको जग माता पिताकै प्रेरणा हो । जुनसुकै अवस्थामा पनि पढनुपर्छ भने प्रेरणा दिने उनका बाबुले २००९ सालमा जिल्लामै दोस्रो विद्यालयको स्थापना गरेका थिए । राजनीतिमा बाबुको सक्रियताले परिवारलाइ नै समस्या हुदा समेत पढाइमा कुनै संझौता गर्न परेन । त्यही अविरल संघर्षको परिणाम हो जगदिशचन्द्र पोखरेलको आजको अवस्था ।

जीवनप्रतिको भाषा र बुझाइ सबैका बेग्ला बेग्लै हुन्छन । जीवनमा सबैका आफ्ना आफ्नै भोगाइ र संघर्षका कथा हुन्छन । त्यसैले जीवन भोगाइका कथाहरुको संगालो हो । जो सँग भन्नका लागि कुनै कथा हुदैनन उसको जिवन अपूरो हुन्छ । अधुरो हुन्छ ।

उद्देश्य के लिनु उडिछुनु चन्द्र एक भने झै लक्ष्यमा अर्जुनदृष्टी सफलताको कडी हो । यसमा अविभावकीय भूमिकाका साथै राम्रा मान्छेको संगतले पनि जिवनको लय समात्न सजिलो हुने उनको बुझाइ छ ।

अमेरिकावाट फर्किनुको कारण सोध्नेहरुलाई उनको जवाफ छ । सन्तोषं परम सुखम अर्थात मलाइ मेरो देशको माटोको सुगन्धमा सन्तोष मिल्छ । जहाँ सन्तोष मिल्छ । त्यहि मेरो सुख हो ।

तनहुँको एक ग्रामिण क्षेत्रमा जन्मिएको मान्छे देश खाइ शेष भएर आज सफलताको शिखरमा हुनुको पछाडी परिवारका अन्य सदस्यको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ । किशुन जी कै पहलमा २०३६ सालमा राजनीतिक पृष्ठभूमिकै परिवारमा उनको विवाह भएको हो । राजनीतिक मोडसँगै जोडिएको उनको विवाहले जीवन गोरेटोमा फडको मार्न सजिलो बनेको हो ।

पोखरेलको जीवनकथा संघर्षको प्रेरणापुन्ज हो । उनको संघर्ष आफ्ना लागि मात्र नभएर मुलुकका लागी पनि एक महत्वपूर्ण उपलब्धी हो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *