जिवन यात्रा शिक्षा

फिचर: जो मिस्त्री काम गरेर चार बहिनी पढाउँछन्

कर्णाली । गाडीमुनि उत्तानो परेर एउटा बालकले पाटपूर्जा बनाइरहेको दृश्य हामी कमैले देखेका हौंला। यो दृश्य देख्दा धेरैलाई अचम्म लाग्छ। यद्यपि शुभकालिका गाउँपालिका–४ (साविक सुकाटिया २) कालीकोटका खेमराज चौलागाईं १६ वर्षे उमेरदेखि जहाँ गाडी बिग्रन्छ, मिस्त्रीका रुपमा बोलान्छन् र सधैझैं उत्तानो परेर गाडी बनाइरहेको देखिन्छन्।

आजभोलि धेरै अभिभावकका बालबालिका सामाजिक सञ्जालमा गेम खेलेर, गीत बजाएर, युट्युब हेरेर, कमेन्ट गरेर दिन बिताइरहेका घटना खोज्न जानुपर्दैन। यस्तो परिवेशमा बालक चौलागाईं भने आफूलाई बाल अवस्थामै श्रमसँग जोडेर आत्मनिर्भर बनाउने एउटा असामान्य चरित्रका रुपमा उभ्याएका छन्।

पाँच कक्षासम्म कर्णाली अंग्रेजी बोर्डिङ स्कुल ताडी कालीकोटमा अध्ययन गरेका उनले ७ देखि १० कक्षासम्म जनजीवन मावि ताडी र हाल १२ कक्षाको अध्ययन पनि सोही विद्यालयमा गर्दै आएका छन्। माध्यमिक शिक्षा परीक्षा (एसइई) दिँदै गर्दा गणित विषयको ट्युसन शुल्क तिर्न नसक्दा आर्थिक उपार्जनको विकल्प खोज्ने क्रममा मिस्त्री काम सुरु गरेको चौलागाईंले बताउँछन्।

‘गरिबीका कारण दुई वर्षअघि कक्षा १० मा गणित विषयको ट्यूसन पढ्दै गर्दा शिक्षकले मागेको शुल्क तिर्न सकिन, निकै हिनता बोध भयो’, उनले भने, ‘घरको आर्थिक अवस्था कमजोर भएकाले पढाइमा अवरोध आउन थालेपछि कमाएर पढ्ने विकल्प खोज्दा पासाङ् अटोपार्ट्स कालीकोटमा मिस्त्रीको काम मिल्यो।’ पछि त्यहीँ कामबाट आर्थिक जोहो हुन थालेको उनले बताए।

शुल्क तिर्न नसकेका कारण एसइई परीक्षा दिँदा गणित विषयमा फेल भएको तितो अनुभूति सुनाउँदै उनले ११ कक्षाको परीक्षामा एक महिना बिदा लिएको र नतिजा ‘बी प्लस’ आएको बताए। कोरोना महामारीका कारण भने १२ कक्षाको पढाइ र परीक्षा दुबै अन्योल अवस्थामा रहेको उनको भनाइ थियो।

उमेर सानो देखिए पनि उनको काम ४० वर्षको व्यक्तिले गर्ने भन्दा कम छैन। गाडीको फोहर र जमिनको धुलोमा लट्पटिएर बिग्रेका पाटपूर्जा बनाउनु चौंलागाईंको दैनिकी बनेको छ। जहाँ जतिबेला गाडी बिग्रन्छ, चालकको आग्रहमा त्यसको ममर्त गर्ने र नयाँ पाटपूर्जा हालेर सञ्चालनमा ल्याउने काम उनले गर्दै आएका छन्। अहिले चौलागाईंलाई सफल अटोपार्ट्सको काम भ्याइनभ्याई छ।

बाह्र कक्षामा अध्ययनरत चौलागाईं अहिले १८ वर्ष लागे। दुई वर्ष अघिदेखि सङ्घर्षको यात्रा थालेका उनले गरिबीका कारण आफ्नो जीवनको इञ्जिनीयर बन्ने धोको अधुरो बनेको दुखेसो गरे। ‘घरमा एक दिदीसहित चार बहिनी छन्। बुबा कवाडी काम गर्नुहुन्छ। आमा गृहणी हुनुहुन्छ’, उनले भने, ‘जग्गा जमिन नहुँदा परिवारको जीवन गुजारा गर्न मेरो कामले सघाएको छ।’

हाल चौलागाईंले सफल अटोपार्ट्स कालीकोटमा काम गरिहेका छन्। भोक, गरिबी, अभाव, अशिक्षा र उत्पीडनले जीवनमा केही गर्ने अवसर प्रदान गर्दोरहेन्छ भन्ने अनुभव उनलाई मिलेको छ। चुनौती र समस्यालाई अवसरमा बदल्ने समाजमा फरक इतिहास निर्माण गर्छन् भन्ने बुझेको बताउँदै चौलागाईंले इञ्जिनीयर बन्ने सपना तुहिए पनि गाडी इन्जिनीयर बन्ने अवसर प्राप्त भएको प्रतिक्रिया दिए।

दिदी टाउकोको बिरामी हुँदा कसरी उपचार गर्ने भन्ने कुराले अहिले पिरोल्दै आएको उनको भनाइ छ। अन्य चार बहिनीको पढाइ खर्च पनि उनले नै बेहोर्दै आएका छन्। यद्यपि बाल्यकालमै श्रमसँग जोडिएका उनको कामले आत्मनिर्भर बन्न उमेरले छेक्दैन भन्ने सन्देश दिएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *