Featured Slider Top News जीवन यात्रा

अन्तराष्ट्रीय गैरसरकारी संस्था हेफर इन्टर नेशनलको निर्देशक महतोको जीवनयात्रा

२००७ साल फागुन सात गते । नेपालको इतिहासमा एक अभूतपूर्व परिवर्तनको शंखघोष भएको दिन अर्थात एक सय चार बर्षे राणा शासनको अन्त्य भइ प्रजातन्त्र उदयको पहिलो विहान । कस्तो संजोग त्यहि दिन धनुषाको अहिलेको हंसपुर नगरपालिकामा जन्मिएका हुन शुभनारायण महतो ।
मध्यम अवस्थाको परिवारमा जन्मिएका महतोको प्रार्थमिक तहको शिक्षा अध्ययन गाँउमै भयो भने एसएलसी र आइएसी पछि उनी कोलम्बो प्लान अन्तर्गत छात्रबृतिमा भारतमा गइ भेटेरीनरी अध्ययन गरे ।

अध्ययन सकेर स्वदेश फर्किएका उनी बेलायती प्रोजेक्ट गोरखा रिसेटलमेन्ट अन्तर्गत सन १९७७ देखि धनकुटा पाख्रिबास कृषिकेन्द्रमा १७ बर्षसम्म काम गरे । उमेर र अनुभवले पाको बनाउदै लगेपछि सन २००४ सालमा उनी पशुपालन तथा पशुस्वास्थ्य सम्बन्धी काम गर्ने अन्तराष्ट्रीय गैरसरकारी संस्था हेफर इन्टर नेशनलमा प्रवेश गरे ।
त्यहि निरन्तरता र अथक मेहनतको प्रतफल स्वरुप अहिले उनी सोहि संस्थाको नेपाल निर्देशकको रुपमा कार्यरत छ ।

जीवन यात्राको दौडानमा आइपर्ने असजिला तथा घुम्तिहरु जिवनका सिकाइ हुन । संघर्षका अध्यायले नै जिवन खारिदै जाने हो । महतो भन्छन अथक परिश्रम मेहनत तथा लगनशिलताले खारिएको जीवन कसि लगाएको सुन जस्तै हुन्छ । वेलैमा गरेको दुखले अहिले सफलताको टाकुरोमा छन उनी । त्यसैले जिवनप्रति कुनै गुनासो पनि छैन ।

एक अन्तराष्ट्रिय गैरसरकारी संस्थामा विभिन्न तहहुदै कन्ट्री डाइरेक्टर हुदासम्म उनले देशदेशावर घुमे देखेर सिकेका कुराहरु आफुले पनि कार्यान्वन गर्ने पहल गरे । नेपालमा अधिकाँश नागरिक कृषि र पशुपालनमा निर्भर रहेर जिविकोपार्जन गरेपनि यसलाई ब्यवस्थित र बैज्ञानिक बनाउन सके समृद्दीको आधार तय गर्न सकिनेमा उनी विश्वस्त छन ।

भनिन्छ सफल लोग्ने मानिसको पछाडी महिलाको ठुलो भूमिका हुन्छ । महतो यो अवस्थामा आइपुग्न हरसमय बलियो गरि अढेश दिइरहने उनकी श्रीमती शैल महतोको भूमिका महत्वपूर्ण छ । ११ बर्षको उमेरमा विहे गरेर त्यतिबेलाको रुढिबादी अन्धविश्वास चुपचाप सहदै महतोको लागि बलियो लठ्ठी बनिरहिन उनी ।

त्यतिबेला पनि दाइजोको नाममा हुने हिंसाले तराइ ग्रसित थियो । उनले पनि दाइजोकै कारण घर र माइतीबीचको विवाद चुपचाप सहिन । छोरिलाई पढाउन हुन्न भन्ने मानसिकताकै उपज थियो उनले माथिल्लो तहसम्म अध्ययन गर्न नपाउनु पनि । प्रतिरोधको परिणाम निकै घातक हुने संझेर परम्पराका नाममा हुने कैयन उत्पिडन उनले पनि सहिन तर महतोलाई अघि बढने बाटोमा कुनै अवरोध आउन दिइनन ।

उमेरले केश मैलाउदै जाँदासम्म पनि दम्पतीबीच नराम्रो गरि विवाद भएको उनलाई संझना छैन । बुढेशकालमा एकअर्का प्रति अझ बलियो साथ चाहिन्छ । यी दुइ बीचको सम्बन्ध त्यही अवस्थामा छ जस्ले एक अर्कालाई जिवनप्रतिको उज्यालो मान्छन ।

आफूले पढन नपाएको पीडाले मन भतभत भैरहदा त्यस्तो दुख छोरीहरुलाई नहोस भनेर छोराछोरीलाई समान अवसरमा पढने तथा अघि बढने वातावरण सृजना गर्नुमा शैल महतोको महत्वपूर्ण भूमिका छ ।

पछिल्लो समय एक अर्को पुस्ताबीच दुरी बढदै जादा पारिवारिक अवस्था कमजोर बन्दै गएको देखिन्छ । तर शुभनारायण त्यस्ता ब्यक्ति हुन जस्ले त्यस्तो अवस्था सृजना हुन दिएनन । नाती सौम्य महतो भन्छन हजुरवुवा जिवनको आदर्श हुन । निरन्तर परीश्रम लगनशिलता र अनुशासन जिवनका मुल आधार हुन भन्ने कुरा सौम्यले हजुरवुवाबाट नै सिकेका हुन ।

यसरी शुभनारायण महतोको जिवन यात्रा रोचक मात्र होइन प्रेरणादायी पनि छ । उमेरले सात दशक हाराहारीका उनको उर्जा र जिवनप्रतिको सकारात्मक सोच र चिन्तन उनी यो उचाइमा पुग्नुका सिढीहरु हुन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *