स्थानिय खबर

कालोबजारी गर्ने २६ पसललाई कारबाहीका लागि सिफारिस

काठमाडौं । काठमाडौं महानगरपालिकाले २६ वटा पसलले कालोबजारी गरेको भन्दै कारबाही गर्न सिफारिस गरेको छ। महानगरपालिकाले विगत २२ दिनमा गरेको बजार अनुगमनमा कालोबजारी गर्ने २६ वटा पसल भेटिएकाले ती पसललाई कारबाही गर्न सिफारिस गरेको उपमेयर हरिप्रभा खड्गीले जानकारी दिइन्।

कोरोना महामारीको मौका छोपेर व्यापारीले उपभोक्ता ठग्ने गरेको गुनासो आएपछि अनुगमन गरेको महानगरले उपत्यका भित्रका विभिन्न २२ वटा पसल सञ्चालकलाई कारबाही गर्न वाणिज्य, आपूर्ति तथा उपोभोक्ता संरक्षण विभागलाई सिफारिस गरेको हो।

महानगरपालिकाले काठमाडौंको मुख्य तरकारी तथा फलफूल बजार क्षेत्र कालिमाटी, बल्खु, नक्साल, तीनकुने, मनोहरा, माछापोखरी र कुलेश्वरमा अनुगमन गरेको थियो। साथै, दाल चामललगायतका ठूला खाद्यान्नका गोदाममा समेत अनुगमन गरेको थियो।

यसरी गरिएको अनुगमनको क्रममा महानगरपालिकाले १ सय २९ मध्ये २६ वटा उपभोक्ता ठगी गर्ने पसललाई १२ लाख ८७ हजार रुपैयाँ आर्थिक जरिवाना गराई कसुरको आधारमा कारबाही गर्न विभागलाई लेखी पठाएको उपमेयर खड्कीले जानकारी दिइन्।

उनले अनुगमनको क्रममा म्याद गुजएिको सामान बेच्ने ११ वटा पसलबाट करिब ११ लाख रुपैयाँ बराबरको सामान बरामद गरी नष्ट गरेको पनि बताइन्। यस्तै, खुद्रा व्यापार गर्ने ७३ वटा पसललाई ७ दिनभित्र दर्ता प्रकियामा आउन निर्देशन दिएको समेत उनले बताइन्।

उपमेयर खड्कीले २२ दिनको अवधिमा मूल्य र गुणस्तरमा उपोभोक्ता ठगी गर्ने कालीमाटी तरकारी तथा फलफूल बजारका २ र बल्खु तरकारी तथा फलफूल बजारका २ गरी ४ जना व्यापारी कालोबजारीको कसुरमा न्यायिक हिरासतमा रहेको पनि बताइन्।

उनीहरुले ४६ रुपैयाँमा खरिद गरेको प्याज कृत्रिम अभाव सिर्जना गरी १ सय ३० रुपैयाँमा बिक्री वितरण गरेको उनले बताइन्। प्याजमा कृत्रिम अभाव सिर्जना गरी कालाबजारी गर्ने व्यापारीहरुले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई समेत ठगी गरेका थिए।

उनीहरुबाट बरामद गरिएको १३ हजार २ सय ६८ किलो प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत् प्रतिकेजी ६० रुपैयाँको प्रति व्यक्ति ३ किलोसम्म खरिद गर्न पाउनेगरी बिक्री गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *