Featured Slider Top News जीवन यात्रा

एकल महिला अधिकारकर्मी लिलि थापाको जीवन यात्रा।


७ वैशाख। जीवन यात्रा सोचेजस्तो सरल रेखामा मात्र अघि बढदैन । सुख दुख आशु हासो उतार चढाव आरोह अवरोहको समस्टी स्वरुप हो जीवन । जीवन पथमा आइपर्ने पहाडका चुनौती नाघ्ने हिम्मत गर्नेहरु नै टाकुरोमा पुग्ने गर्छन । समाजमा सफल देखिनेहरुका पछाडी कैयन संघर्षका भन्ज्याङ कटेको इतिहाँस अवस्य हुन्छ ।
त्यस्तैमध्येकी एक कर्मयोगी हुन एकल महिला अधिकारका लागि बर्षौदेखि लडिरहेकी अभियन्ता लिलि थापा ।

काठमाण्डौको अनामनगरमा सैनिक परिवारमा जन्मे हुर्केकी उनी विवाह सम्बन्ध पनि सैन्य परिवारमै जोडियो । आर्थिक रुपमा सम्पन्न अनि संयुक्त परिवारमा रहदा बाहिरि समुदायसँगको सम्पर्कमा नरहेपनि कालान्तरमा उनको कर्म देशका सबै वर्ग र समुदायसँग जोडिन पुग्यो ।

१३ बर्षमा एसएलसी,१७ बर्षमा विहे अनि २६ बर्षमा तीन छोराछोरीकी आमा अनि २९ बर्षमा बैधब्य । सैन्य सेवामा रहेका श्रीमान शान्ति सेनामा जाँदा मृत्यु भएको घटना लिलिको जिन्दगीमा दैवले प्रहार गरेको सबैभन्दा ठुलो घटना हो । अप्रत्यासित बज्रपात सहनुको विकल्प थिएन र त्यही कठिन समयलाइ टेकेर उभिनु पनि थियो ।

२९ बर्षको उमेरमा विधवा भएपछि समाजले हेर्ने र ब्यवहार गर्ने दृष्टिकोण बदलिन थाल्यो । जति संघर्षको समय थपिदै गयो लिलिमा अठोट पनि थपिदै गयो । एकल जिवनको पीडा आफैले भोगेपछि समाजमा रहेका लाखौ त्यस्ता महिलाको हक हितमा लाग्ने प्रेरणा थपियो । त्यसपछि उनी लागिन संगठिन रुपमा एकल महिलाका सगोल आवाज उठाउने अभियानमा ।

सविधानसभाको निर्वाचनमा जुनसुकै दलको भएपनि महिलालाइ नेतृत्वमा पुर्याउनुपर्छ भन्ने उद्देश्यले उनकै नेतृत्वमा फिफ्टी फिफ्टी मिशन शुरु भयो ।
त्यसपछि निरन्तर समाज सरोकारवाला सरकार नीतिनिर्माण तहमा एकल महिलाका समस्या र आवाज उठाइरहदाको परिणाम आज एकल महिलाको सवालहरु कानुनमा समेत समावेश गरिएको छ ।
उनकै नेतृत्वमा शुरु भएको एकल महिला सन्जालमा अहिले संगठित रुपमा २ लाख बढी सदस्य छन भने देशभर २५ सय पचास एकल महिला समुह छन । यति ठुलो समुदायको आवाजलाई संगठित पार्दै उनीहरुकै हक हितका लागि लडिरहनु उनको सबैभन्दा ठूलो खुशी हो ।

दुइ दर्जन भन्दा बढी मुलुक र देशका ६७ जिल्ला पुगेकी लिलि थापा विधवालाई रातो रंग अभियान शुरु गर्दा भोगेका सास्ती र समाजबाट झण्डै वहिस्कृत भएको अवस्थाले अहिले पनि झस्काइरहन्छ ।

लिलिको भोगाइमा जिवन संघर्षको अर्को नाम हो । जस्ले परिस्थितिसँग जुध्ने हिम्मत र आट गर्छ उनी नै सफलताको असली हकदार हो । एकल महिलाका दविएका आवाज उठाउदै अहिले एकल महिलाका सवाल र त्यसभित्रका पनि विभिन्न समुदायका समस्या केस्रा केस्रा गरि केलाउनै अभियानको नेतृत्वमा छिन ।
जीवन यसैमा समर्पित भयो र अबको समय पनि यसैमा केन्द्रित हुने उनको लक्ष्य छ । पीडाका कैयन अग्ला पहाडसँग जुधेर आवाज विहिन लाखौको आवाज बन्न सफल लिलि थापाको संघर्षप्रति हाम्रो पनि सम्मान ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *