Featured Post Featured Slider जीवन यात्रा

एक संघर्षशिल महिला उद्योगी ब्यावसायी भवानी राणाको जीवन यात्रा

८ वैशाख।
भगवान भन्छन रे तँ आँट म पुर्याउछु । त्यसैले त भनिन्छ हिम्मत गर्नेहरुको कहिल्यै हार हुदैन । निर्धारित लक्ष्य । निरन्तरको परिश्रम त्यसपछि मात्रै सफलता । जीवनका यिनै संघर्ष सुत्रवाट सफलताको उचाइमा पुगेकी एक संघर्षशिल महिला उद्योगी ब्यावसायी हुन भवानी राणा ।
काठमाण्डौकै एक सम्पन्न परिवारमा जन्मिएकी उनलाइ नपुग्दो केहि थिएन तर आफैले केहि गर्नुपर्छ भन्ने अठोटले हरबखत झकझकाइरहदाको परिणाम आज उनी साढे पाँच दशक लामो इतिहास बोकेको उद्योग वाणिज्य महासंघको १८ औ अध्यक्षको हैसियतमा छिन । उद्योग तथा ब्यावसायीहरुको छाता संगठन अर्थात नीजि क्षेत्रको प्रतिनिधित्व गर्ने सर्वोच्च निकाय ।

सरकारले अर्थतन्त्रको एउटा खम्बा मान्ने निकायको नेतृत्वमा महिला पुग्नु चानेचुने कुरा होइन । तर नथाकेर लागेपछि पुग्न नसकिने ठाँउ पनि त छैन । आजको हैसितमा आइपुग्न उनले गरेको संघर्ष कम प्रेरणादायी छैन ।
काठमाण्डौको रैथाने सम्पन्न परिवारमा जन्मिएकी उनको प्रारम्भिक शिक्षा प्रतिष्ठित सेन्ट मेरिज स्कुलबाट भयो भने माथिल्लो तहको शिक्षा भारतको लखनउ र दिल्लिबाट भएको हो ।

तत्कालिन अन्चलाधिष मनमोहन मिश्र अर्थात बाबुको नेतृत्वदायी ब्यक्तित्वको प्रभाव र प्रेरणाले उनमा पनि जुनसुकै क्षेत्रमा होस नेतृत्वमा पुग्नुपर्छ भन्ने अभिलाषा जाग्यो । अर्को तर्फ कुनै समय पनि खाली बस्नु हुदैन भन्ने आमाको भनाइले भवानीलाइ केहि न केहि गर्ने आटमा उर्जा भर्यो । त्यसैको परिणाम थियो सन १९८७ मा गार्भेम्नट उद्योगमा प्रवेश ।

छोरी विहे गरेर अर्काको घर मात्रै जाने होइन । त्यो भन्दा पनि फरकिलो र उद्दात जीवन ज्यूपर्छ भन्ने आमाकै प्रेरणाले उनको आत्मनिर्भरताको यात्रामा भर्याङको काम गर्यो । राणा खानदानमा विवाह पश्चात नेपालगन्जमा होटल ब्यावसायमा संलग्न हुदा पनि उनी विभिन्न सामाजिक संघ संस्था मार्फत महिला उत्थान ससक्तिकरण तथा अधिकार क्षेत्रमा आफ्नो दायरा फराकिलो बनाउदै लगिन । उनी उद्योग वाणीज्य महासंघ प्रवेशको जग पनि यहि बन्यो ।

उद्योगपति भन्ने वित्तिकै पुरुष नै हुन्छ भन्ने सोचका बाबजुत महासंघ प्रवेश गरिसकेपछि महिलाहरुलाइ उद्यम क्षेत्रमा आकर्षित गर्ने उनकै नेतृत्वमा महिला उद्यमी महासंघको स्थापना भयो । पछिल्लो समय लघुउद्यमदेखि मध्यमखालका हुदै ठुला उद्योगमा समेत महिलाको सहभागिता बढन थालेको छ । यसका लागि कहि न कहि भवानी राणाको भूमिका जोडीएको छ नै ।

जीवन आफैमा एक अनुपम उपहार हो । जीवनका हरेक चरण र कालखण्डको आफ्नै महिमा र महत्व हुन्छ । अध्यात्मिक रुझान भएकी उनलाइ यो उत्तम जीवन केहि न केहि राम्रो काम गर्नका लागि हो र त्यस्ता सुकृतीजन्य काममा जीवन समर्पित गर्नुपर्छ भन्ने लाग्छ ।

लक्ष्य हुनुपर्छ । त्यो प्राप्तीका लागि मेहनत गर्नुपर्छ । त्यसक्रममा आइपर्ने सफलता या असफलताले जीन्दगीको नया गोरेटो पहिल्याउ मद्दत गर्छ । असफलताको वहानामा जो हार्छ उ आधा बाटोमै छोडिन्छ । संघर्षमय जीवन यात्रामा सकारात्मक सोचलाइ नै सफलताको सुत्र मान्छिन उनी ।

कोभिड १९ का कारण देशको चौतर्फी क्षेत्र डामाडोल छ । उनको विशेष लगानी रहेको पर्यटन क्षेत्र झन धरासायी छ । यो अवस्थामा नयाँ नेतृत्वलाइ जिम्मेवारी सुम्पेर आफ्ना अधुरा काम र ब्यावसायलाइ थप विस्तार गर्ने भवानी राणाको अबको बाटो हो ।

२०६२ सालमा उद्योग बाणिज्य महासंघमा प्रवेश गरि विभिन्न भूमिकामा रहेर काम गर्दै महासंघको १८ औ अध्यक्ष बनेकी राणा स्नेहा ग्रुप प्रालिकी व्यवस्थापन निर्देशक,स्नेहा कल्चरल इन्टरटेनमेन्ट प्रालिकी निर्देशक, स्नेहा बिएन्डएस कोलाब्रेसन प्रालिकी व्यवस्थापन निर्देशक, सार्क चेम्बर क्राफ्ट भिलेजकी प्रवर्द्धक, पद्य क्रिएशन प्रालिकी निर्देशक र बागेश्वरी विकास बैंककी प्रवर्द्धक हुन् । होटल तथा पर्यटन क्षेत्रमा लगानी रहेकी राणा महासंघको नेतृत्व सम्म आइपुग्दाका चुनौती यसरी सुनाउछिन ।

कोहि महिला होस वा पुरुष सफल हुनका लागि उसको परिवारको पूर्ण साथ र सहयोग आवश्यक हुन्छ । भवानी आजको अवस्थामा पुग्न उनको परिवारको पनि पुर्ण साथ सहयोग र प्रेरणा छ ।

पितृसत्ताले थलिएको समाज तथा त्यहि चिन्तनले ग्रसित ब्यवस्थाका बिच पनि उनले गरेको संघर्ष र प्राप्त गरेको सफलताको उचाइ जो कसैका लागि प्रेरणादायी छ । भवानीको संघर्षकथा तपाइ हाम्रो लागि पनि प्रेरणाकथा हुन सक्छ । हरेक चुनौतीसँग मुकाबला गर्दै लक्ष्यको मुकाममा पुगेकी राणालाइ आगामि दिनमा पनि थप सफलता मिलोस हाम्रो पनि शुभकामना ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *