Top News स्वास्थ्य

सार्वजनिक सवारीमा छैन सावधानी


काठमाडौँ,९ वैशाख। कोरोना संक्रमणको जोखिम बढ्दै गए पनि स्वास्थ्य सावधानीबिनै सार्वजनिक सवारीका साधन निर्बाध सञ्चालनमा छन् । यात्रुको भीड उस्तै छ ।

यातायात व्यवसायीले पनि कोचाकोच हुने गरेरै यात्रु बोकिरहेका छन् । गाडी चढ्ने यात्रुलाई मास्क अनिवार्य गरिएको भए पनि कार्यान्वयन छैन । न गाडीमा सेनिटाइजर नै राख्न थालिएको छ ।
तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने मंगलबारबाटै सार्वजनिक सवारीमा कडाइ थालेको दाबी गरेको छ । मन्त्रिपरिषद्ले सोमबार गरेको निर्णयबारे प्रशासन कार्यालयमा मंगलबार सरोकारवाला निकायबीच भएको छलफलमा अनिवार्य स्वास्थ्य मापदण्ड कायम गर्ने सहमति भएको थियो । यातायात व्यवसायी र मजदुर भने के–के नियम पालना गर्नुपर्ने भन्नेबारेमै जानकार छैनन् ।

‘कोभिडको जोखिम छ, थाहा छ,’ एक सवारी चालकले भने, ‘तर के–के नियम पालना गर्नुपर्ने हो, अहिलेसम्म सरकारबाट भएको कुनै पनि निर्णयको जानकारी पाएका छैनौं ।’ देशभर करिब साढे तीन लाख सानारठूला सार्वजनिक सवारी गुड्छन् ।


मन्त्रिपरिषद्को निर्णयअनुसार लामा दूरीमा चल्ने सार्वजनिक सवारीमा बीच बाटोमा थप यात्रु चढाउन पाइने छैन । त्यसबाहेक सवार यात्रुहरूको विवरण जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई उपलब्ध गराउनुपर्नेछ । त्यस्तै, क्षमताभन्दा बढी यात्रु राख्न नपाइने पनि सरकारले निर्णय गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार सार्वजनिक सवारीमा यात्रा गर्ने सबैलाई मास्क अनिवार्य गरिएको छ ।

‘मास्क नलगाउनेलाई गाडीमा चढ्न नदिने भनिएको छ,’ उनले भने, ‘अली कठोर हिसाबले यी कुरामा अगाडि बढ्न सबै निकायलाई भनिसकेका छौं, यसको कार्यान्वयन कडाइका साथ गरिनेछ ।’

उनले नियम लागू हुँदा समेत मास्क नलगाएका यात्रु पनि चढाइएको र सिट क्षमताभन्दा बढी यात्रु चढाएको गुनासो आएकाले तत्काल यसबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकेको दाबी गरे । ‘साँझपख काठमाडौंबाट भित्री क्षेत्रमा जाने गाडीमा यात्रुको बढी भीड हुने गरेको छ,’ उनले भने, ‘यसमा बरु गाडी थपेर भए पनि सिट संख्याअनुसार मात्र यात्रु बोक्न भनिएको छ ।’

सरकारको निर्णयमा सवारीसाधनको ढोका र भित्र पनि सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, चालक तथा सहचालकले मास्क र भाइजर अनिवार्य रूपमा लगाउनुपर्ने, सवारी साधनलाई दैनिक रूपमा निःसंक्रमित गर्नुपर्ने उल्लेख छ । तर यी नियम पनि लागू भएका छैनन् । मन्त्रिपरिषद्को निर्णयमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा १० रुपैयाँ लिई मास्क उपलब्ध गराउने उल्लेख भए पनि प्रशासनले भने बिनामास्क आउने यात्रुलाई नचढाउन निर्देशन दिएको छ । यो समाचार कान्तिपुरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *