जिवन यात्रा मनोरञ्जन

रंगकर्मी सुरेश भन्छन्- नाटकमा मन छ तर जीवन चलाउन जागिर गर्छु

इलाम । सोचेजस्तो कहाँ हुन्छ र जीवन। हुन्थ्यो भने मान्छे दुःखी र विपन्न पनि त हुँदैनथ्यो। मनमा चाह हुदाँहुँदै जीवन चलाउन अनेक गर्नुपर्छ। मनमा लागेर मात्रै भएन जीवन धान्न चाहेभन्दा फरक वा कम चाहना भएको कर्म पनि गर्नुपर्छ।

इलाम नगरपालिका-७, का सुरेश पोर्तेललाई अचेल यस्तै लाग्छ। सानै उमेरमा नाटकमा भिजेका सुरेशको मन अझै पनि त्यतै तानिन्छ। सडक नाटक र नाटकमा पात्र बनेर कल्पनामा रमाउँदाको मजै बेग्लै थियो तर रहरले मात्र कहाँ भयो र जीवन चलाउन त आदर्शभन्दा यथार्थ चाहिन्छ। यसैले अहिले सुरेश फाट्टफुट्ट मात्रै पर्दामा देखिन्छन्।

मन त सुरेशको ठूलै रङ्गकर्मी बन्ने र सबैतिर चिनिने नै थियो। र, छ पनि तर नाटकले जीवन धान्न गाह्रो भएपछि अरूतिर समय दिएर नाटकमा विरलै देखिन्छन् उनी।

नाटक खेल्ने मात्र होइन, कथा लेख्ने, पटकथा बनाउने र निर्देशन गर्ने तागत छ सुरेशमा। अहिलेसम्म करिब २०० नाटक खेलेका सुरेशले ५० जति त निर्देशन नै गरेका छन्। जीवन नै रङ्गमञ्च र रङ्गमञ्च नै जीवन देख्ने सुरेशले लेखेका र खेलेका केही नाटकले त राष्ट्रियस्तरमै राम्रै छाप छोडे।

‘डेब्यु’ नाटक नै हाइहाइ बन्दा

सुरेशले १७ वर्षमा नाटकमा अभिनय गरे पनि नाटक खेल्ने इच्छा भने सानैदेखिको हो। अरूले अभिनय गरेको देखेर अभिनय गर्ने भूत चढेको थियो बालापनमै। आफ्नो रुचिको विषय त हो। आखिर छेक्न कसले पो सक्छ र! सुरेश पनि नाटकमै पुगे र नाटक खेल्ने सपना पूरा गरेरै छाडे।

सामाजिक नाटक ‘कथा मानवीरेको’ मञ्चन तयारीमा थियो। सुरेश त्यही नाटकबाट ‘डेब्यु’ गर्ने तरखरमा थिए। नाटक त बल्लतल्ल खेले तर प्रतिक्रिया कस्तो आउने टुङ्गो भएन तर नाटकको टिम नाटक सकेर बाहिर मात्र निस्किएको थियो। दर्शकले खुबै रुचाएको बुझियो।

यही उत्प्रेरणाले सुरेशमा रङ्गमञ्चमा रहने रहर अझै प्रगाढ भयो। यही नाटक जिल्लाका विभिन्न क्षेत्रमा मञ्चन हुन पुग्यो। त्यही नाटकबाट अरू नाटकमा समेत खेल्ने अवसर मिल्यो उनलाई। चार वर्षदेखि मानवअधिकार मञ्च नेपाल इलामको चेतना नाट्य समूह संस्थाको नेतृत्व लिइरहेका छन् सुरेशले।

नाटकको शीर्षकबाट छोराको नाम

तीन वर्षअघि सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमल काठमाडौंबाट नाटक मञ्चन गर्ने नाट्य समूहलाई पत्र काट्यो। त्यत्तिकैमा नाट्य समूहले पनि नाटक पठाउने निधो गर्यो। यत्तिकैमा डा देवी क्षेत्री दुलालले लेखेको ‘म पहिलो सन्तान किसान जन्माउँछु’ शीर्षकको नाटक सोही संस्थामा पठाइयो। नभन्दै नाटक प्रदेशकै उत्कृष्टमध्येमा पर्दै मञ्चन गर्ने बाटो खुल्यो।

सुरेशकै निर्देशनमा प्रदेश नंं १ मा मात्र होइन, सोही नाटक कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि मञ्चन भयो। ‘नाटकको शीर्षकनै किसानसम्बन्धी थियो। यता मेरो पनि बच्चा जन्मिने थियो’, सुरेशले हाँस्दै भने, ‘फागुनमा नाटक खेलियो। चैतमा छोरो जन्मियो। सबैले भनेपछि छोराको नाम नै ‘किसान’ रह्यो।’

यति मात्र होइन, सुरेशसँग नाटकका स्मरणीय क्षण पनि छन्। नाटक खेल्दै दर्शकको मन जितेर कति दिन त नाटकमै खेलेरै बित्यो। नाटकमै जीवन खोज्दै सुरेशसहितको टिमले कुनै बेला महिनामा एउटा नाटक मञ्चन गर्नेसमेत कार्यक्रम अघि बढायो।

सामाजिक विषयवस्तुमाथि नाटक देखाएर सकारात्मक भावना देखाउनका लागि उनीहरूले अभियानै चलाए पनि। नाटकबाट बाँच्न गाह्रो हुने देखेपछि कतिले क्षेत्रै त्याग गरे भने कतिले निरन्तरता दिन नसक्दा टिम जुट्न गाह्रो भयो।

‘नाटकबाटै जीवन धान्नचाहिँ हाम्रो ठाउँमा गाह्रो छ’, उनी भन्छन्, ‘हामीलाई सिकाउने गुरुहरु पनि पलायन भएको देखेर हामी पनि अन्यत्र लाग्यौँ। त्यसैले फाट्टफुट्ट मात्र नाटकमा देखिन बाध्य छौँ।’

जीवन धान्न जागिर

एक किसिमले सुरेशलाई भाग्यमानी ठान्नुपर्छ। नाटकले देखाएको ठाउँबाटै उनले जागिर पाए। उच्च शिक्षा हासिल गर्दैदेखि मानवअधिकार मञ्च नेपालसँग नजिक थिए। त्यत्तिकैमा मञ्चले सुरेशलाई जागिर पनि दियो। सुरेशको मन नाटकतिर थियो तर जीवन धान्न जागिर खानुपर्ने भयो।

‘घरको एउटा छोरो बाहिर नाटक सिक्न जान पनि सकिनँ’, सुरेशले भने, ‘राजधानीबाटै पनि नाटकका लागि ‘अफर’ त आउँथ्यो तर घरायसी समस्याले जान सकिएन।’

पहिले मञ्चमा आबद्ध भएर जागिर र नाटक सुरु गरेका सुरेश केही समय जागिरकै लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मा पनि आबद्ध भए। अहिले सुरेश मञ्चमै जागिरमा छन्। नाटकको भोक अझै नहटेकाले जागिरका साथै अझै पनि नाटकमै रहेका छन्।

सत्ताइस वर्षमा उक्लिँदै गरेका सुरेश यति हुँदाहुँदै पनि नाटकमा जीवन छैन भन्नचाहिँ सक्दैनन्। नाटकका लागि पूर्वाधार अभाव भएकाले नाटक मञ्चन गाह्रो भएको सुरेशको दुखेसो छ।

भौतिक संरचना भएकामा नाटकबाटै अभिनय मात्र होइन, रोजगारी पनि पाउन सक्ने सु्रेशको जिकिर छ। ‘एउटा नाट्य घर मात्र भए पनि नाटकबाट धेरै जना बाँच्न सकिन्छ’, सुरेश भन्छन्, ‘सरकारी क्षेत्रबाट यसका लागि प्रयत्न भए, धेरै सहज हुन्थ्यो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *