Featured Slider खेलकुद

त्रिकोणात्मक क्रिकेट प्रतियोगितको उपाधी नेपाललाई

काठमाडौँ, ११ वैशाख । नेदरल्यान्ड्समाथि कीर्तिमानी जित निकाल्दै आयोजक नेपालले त्रिकोणात्मक शृखंलाको उपाधि जितेको छ ।

कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा नेपालले नेदरल्यान्ड्समाथि १ सय ४२ रनको जित निकाल्दै उपाधि उचालेको हो । फराकिलो जित निकालेको नेपालले यस अघि भुटान विरुद्ध निकालेको १ सय ४१ रनको जितलाई सुधार गर्दै कीर्तिमान रच्न सफल भएको हो ।

नेपालले दिएको २ सय ३९ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्सले १७.२ ओभरमा सबै विकेट गुमाएर मात्र ९६ रन बनाउँदा नेपालले फराकिलो जित निकालेको हो । यस सँगै नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय ट्वान्टी–२० प्रतियोगिताको उपाधि उचालेको हो । नेपालले ११ वर्षपछि घरेलु मैदानमा उपाधि उचालेको हो । यस अघि नेपालले काठमाडौंमा सम्पन्न डिभिजन–५ को उपाधि घरेलु मैदानमा उचालेको थियो ।

शनिबार २ सय ३९ रनको लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको नेदरल्यान्ड्सको खराब सुरुआत भएको थियो । ८ औं ओभरको खेलमा ४२ रन जोड्दा ६ विकेट गुमाएको थियो । कसिलो बलिङ सामु निरिह देखिएको नेदरल्यान्ड्सका ओपन म्याक डि ओडले सर्वाधिक २० रन बनाउँदा कप्तान पिटर सिलरले १३ रन जोडेर पवेलियन फर्किदा दुई खेलाडी रन आउट हुन पुगेका थिए । सेविस्टियन ब्राट २६ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले उनलाई राम्रो साथ दिन सकेनन् ।

नेदरल्यान्ड्सको इनिङलाई सस्तैमा समेट्ने क्रममा करण केसीले सर्वाधिक ३ विकेट निकाल्दा सन्दिप लामिछाने र कमल सिंह ऐरीले समान २÷२ विकेट निकालेका थिए । यस अघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको समाप्तिमा ३ विकेट गुमाएर २ सय ३८ रन जोडेको थियो । ओपनर युवा ब्याट्स कुशल भुर्तेलले सर्वाधिक ७७ रनको अर्धसतकीय पारी खेले । ५३ बलको सामना गरेका भुर्तेलले ८ चौका र ३ छक्का प्रहार गरेका थिए । उनलाई सुरुआतीचरणमा साथ दिएका आशिफ शेख १६ र कप्तान ज्ञानेन्द्र मल्ल ३३ रनमा पवेलियन फर्किएका थिए । यस्तै कुशल मल्ल ५० रन पुरा गर्दै अर्धसतकीय पारी खेल्दै अविजित रहँदा दिपेन्द्र सिंह ऐरी पनि ४८ रनमा अविजित रहे । मल्लले २४ बलको सामना गर्दा २ चौका र ५ छक्का प्रहार गरेका थिए । उता ४८ रनको पारी खेलेका दिपेन्द्रले ५ चौका र ३ छक्का हिर्काएका थिए ।

नेपालको तीन विकेट निकाल्न नेदरल्यान्ड्सका लागि फिलिप्पे बोइसेविनले दुई विकेट निकाल्दा सेवास्टियन ब्राटले एक विकेट लिए । मलेशिया, नेदरल्यान्ड्स र नेपालबीच भएको त्रिकोणात्मक शृखंलामा युवा ब्याट्सम्यान कुशल भुर्तेल प्लेयर अफ दि सिरिज चुनिए । भुर्तेलले पल्सरको एनएस–२०० सीसीको मोटरसाइकल प्राप्त गरे । भुर्तेलले शृखंलाभर २ सय ७८ रन बनाएका थिए । जसमा उनले ४ अर्धशतक बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *