Featured Post Featured Slider जीवन यात्रा

महिला अभियान्ता मोना शेर्पाको जीवन यात्रा


२८ वैशाख।
मै खाउ मै लाउ सुख सयल वा मोज म गरु
म हाँसु मै नाचुँ अरु सब मरुन दुर्बलहरु ।।
आफ्ना लागि मात्रै बाँच्नुले जीवनको सार र महिमा बोक्न सक्दैन । मानव जीवन एक दुर्लभ प्राप्ती हो । त्यसैले अरुका लागि त्याग समर्पण पनि जिन्दगीको हिस्सा हो । जीवन संघर्ष हो । यो सबैको परिभाषामा अटाएको विषय हो तर मोना शेर्पा भन्छिन जीवन समर्पण हो । त्याग पनि हो । नयाँ खोजको श्रृखला पनि हो ।

सामान्य आर्थिक अवस्थाकाबीच संघर्षका पहाड पन्छाउदै अहिले उनी नेपालमा भित्रिएका अन्तराष्ट्रिय गैरसरकारी संस्थामध्येकै जेठो मानिने केयर नेपालको सहायक नेपाल निर्देशक छिन ।
ब्रामह्ण परिवारकी आमा अनि शेर्पा परिवारका बाबु । उनका बाबुआमाको यो संयोग हुनुमा फरक कथा छ । देशमा समावेशीको नारा शुरु भएको धेरै भएको छैन तर उनको परिवारमा उहिल्यै लागु भैसकेको थियो । उनको बाल्यकाल औसत जस्तै हो ।
निम्छरो आर्थिक अवस्थाका कारण सानैदेखि छात्रबृतिमा पढने मौका पाएकी उनी त्यतिबेला परिवार समाज छरछिमेक सँग नजिक हुन पाइनन ।

१८ बर्षमा अन्तर्जातीय विहे । त्यसपछि एक छोरीको जन्म अनि २४ बर्षमा सम्बन्ध विच्छेद । जीवनयात्राको सम्बन्धमा ठुलो दरार आएपनि अध्ययन यात्रा रोकिएन ।
सात बर्षमै सम्बन्ध छोडिनुको कारणमा उनी घुमाउरो शैलीमा भन्छिन त्यो परिबन्धको परिणाम थियो । सकसको समयवाट पार पाउन मान्छेले कसरी समयसँग संझौता गर्दोरहेछ । त्यो त्यसैको परिणाम थियो ।

यिनै अफ्ठेरोका बिच स्नाताकोत्तर सकियो । पहिले शिक्षण पेशामा आबद्ध भएकी उनी केहि समय गैरसरकारी संस्थामा काम गरेर अन्तराष्ट्रीय गैरसरकारी संस्थामा फडको मारिन । शुरुमा रुमटुरिड त्यसपछि एक्सन एड अनि हेलभेटास । यि तिनमध्ये एक्सन एडमा आठ बर्ष काम गर्दा जीवनको सबैभन्दा ठुलो सिकाइ भयो । शायद आजको उनी हुनुको जग पनि त्यहि थियो ।

अहिले उनी नेपालमा सन १९७८ देखि विकास साझेदारको रुपमा काम गरिरहेको अन्तराष्ट्रिय गैरसरकारी संस्था केयर नेपालको सहायक नेपाल निर्देशक छिन । जुनसुकै क्षेत्रमा महिला तथा वालबालिका केन्द्रित भएर काम गरिरहेको यो संस्थामा रहदा देशदर्शन मात्र होइन मुलुकको खास तस्विर अबलोकन गर्ने मौका मिलेको छ । र अधिकारका लागि लडने चौडा मैदान पनि बनेको छ ।

जीवन संघर्ष संघर्ष भनेर सबैले भनिरहेकै छन तर मोना शेर्पा भन्छिन यसलाइ बहुआयामिक रुपमा हेरिनुपर्छ । जीवनका हरेक चरण उत्तिकै महत्वपूर्ण मान्ने शेर्पाको बुझाइमा जीवन संघर्ष हो । सिकाइ हो । खोज हो । त्याग हो । समर्पण हो ।

भाग्यमा विश्वास गर्दा धोका हुन सक्छ । त्यसैले कर्ममा विश्वास गर्न र जीवनप्रति सकारात्मक हुन उनको सुझाव छ ।

अधिकार क्षेत्रमै समर्पित हुने उनको लक्ष्य हो । सामाजिक रुपान्तरणका लागि आफ्नो ठाँउवाट जे जति गर्न सकिन्छ त्यो योगदान पुर्याउन उनी दृढ छिन । त्यसैले त मै खाउ मै लाउको भावना उनलाइ मन पर्दैन ।

आफ्नो जीवनयात्राका साथी संगाती र संघर्षमा साथ दिने सबैलाइ परिवार मान्ने उनी एक छोरीकी आमा पनि हुन । पुत्रीवात्सल्यता पनि उनको जीवनको उर्जा हो । आमालाइ हेर्ने छोरीको नजर पनि उत्तिकै विशाल छ ।

मोना शेर्पा संघर्षको एउटा गतिलो पाठ हुन । जीवनमा आइपर्ने असजिलासँग कसरी मुकाबिला गर्ने उनको जिवनकथावाट पनि हामीले धेरै कुरा सिक्न सक्छौ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *