Featured Post जीवन यात्रा

सामाजिक अभियान्ता पूर्णशोभा चित्रकार जीवन यात्रा


१३ वैशाख
पूर्णशोभा चित्रकार अर्थात एउटै नामको पछाडी बहुआयामिक ब्यक्तित्व । नेपालको शैक्षिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेकी चित्रकार वामपन्थी राजनीतिमा समेत महत्वपूर्ण योगदान पुर्याउने ब्यक्तिको रुपमा परिचित छन । सामाजिक अभियन्ताको रुपमा समेत उचो हैसियत बनाएकी चित्रकार पछिल्लो समय विस्फोटक पदार्थ तथा बारुदी सुरुङ विरुद्धको अभियानमा संस्थागत रुपमा सक्रिय छन ।

काठमाण्डौ महानगरपालिका २३ स्थित झोछेमा जन्मिएकी पूर्णशोभा परिवारमा दशौ सन्तान हुन । चाडपर्व तथा नेवारी परम्परा अन्तर्गत देवीदेवताका चित्र बनाउने बाबुले सन्तानको रेखदेख तथा शिक्षा दिक्षाका लागि दैनिक २० घण्टासम्म काम गर्नुपर्थ्यो । वाबुको त्यहि समर्पण र प्रेरणाका कारण पनि पूर्णशोभा परिवारमा एसएलसी पास गर्ने पहिलो ब्यक्ति हुन ।

सानैदेखि विद्रोहि स्वभावकी उनी पठाइमा पनि अब्बल हुन । आइ ए अध्ययन गर्दा गर्दै संगतका कारण राजनीतिमा होमिएकी उनले केहि समयको अन्तरपछि स्नातकोत्तर सम्मको पढाइ पुरा गरिन । वामपन्थी राजनीतिमा सक्रिय हुदाहुदै शिक्षण पेशामा आवद्ध भएकी पूर्णशोभा शिक्षक आन्दोलनकी अभियन्ता समेत हुन ।
पन्चायती ब्यवस्थाकाबीच २०३६ सालमा स्थापित राष्ट्रिय शिक्षक संगठनको संस्थापक समेत रहेकी उनी शिक्षकको पेशागत हक हितका लागि मात्र नभइ मजदुर आन्दोलनमा समेत अग्रणी मोर्चामा रहेर काम गरिन ।

वामपन्थी आन्दोलनमा सक्रिय हुदा नेताहरुसँग साथ संगत बढी भएकै कारण उनको विहे धादिङवाट राजनीतिक उठान गरेका नेता सुरेन्द्र पाण्डेसँग भयो । त्योबेला अन्तरजातीय विवाह सजिलो थिएन तर विद्रोहि चेतले त्यो सम्भव बनायो । शुरुमा दुवैजना राजनीतिमा पूर्णकालिन कार्यकर्ता बनेपनि सन्तान जन्मिएपछि आत्मनिर्भरताको खोजी गर्दे उनी राजनीतिसँगै गैरसरकारी क्षेत्रमा प्रवेश गरिन ।

बारुदी सुरुङ र विस्फोटक पदार्थ रहेका स्थान पहिचान तथा नष्ट गरी सुरक्षाको प्रत्याभूति दिलाउने अभियानमा संस्थागत रुपमा लाग्नुको पछाडी कम्बोडिया यात्राको भूमिका महत्वपूर्ण रहेको उनि बताउछिन ।
नेपाल शान्ती क्षेत्रको रुपमा परिचित रहेपनि दशक लामो द्वन्दका घाउ अझै पुरिएको छैन । तत्कालिन समयमा विद्रोहि र सरकारपक्षले प्रयोग गरेका बारुदी सुरुङ तथा विस्फोटक पदार्थका कारण शान्ति संझौताको डेढदशक पुरा हुदा समेत निर्दोष नागरिकले अनाहकमा ज्यान गुमाउनु परेको छ । यो अवस्थाको अन्त्यका लागि उनी नेतृत्वको संस्थाले काम गरिरहेको छ ।

राजनीति तथा सामाजिक क्षेत्रवाट खारिदै यहासम्म आइपुगेकी पूर्णशोभाको बुझाइमा जीवन एक बरदान हो र यसलाइ उच्चतम सदुपयोग गर्नुपर्छ । जीवनयात्राका अनेक घुम्तिको हण्डर ठक्करले सफलताको वाटो अझ फराकिलो बनाउन मद्दत गर्छ ।
निरन्तरको लगाव र मेहनत नै सफलताका लागि ब्रम्हसुत्र हुन उनको बुझाइमा । पछिल्लो समय सामाजिक अभियानमा सक्रिय भएपनि राजनीतिबाट विमुख हुन नसक्ने उनी आफ्नो जीवनकालका अविस्मरणीय क्षण यसरी संझिन्छिन ।

शिक्षक तथा मजदुर आन्दोलनदेखि सक्रिय राजनितिमा रहि महिला संघको नेतृत्व हुदै सामाजिक अभियानमा सक्रिय पूर्णशोभाको इन्द्रेणी जिवनकथा जो कसैका लागि प्रेरणादायी छ । हरेक अफ्ठेरासँगै संभावनाका द्वार पनि खुलै रहन्छन र एकपटक असफल हुदैमा निराश हुनुहुदैन भन्ने कुरा पनि उनको जीवनसंघर्षबाट बुझ्न सकिन्छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *