सहकारी दर्पण

साकोसको ध्यान जलवायु परिवर्तनले ल्याएको नकारात्मक असरहरुको न्यूनीकरण अभ्यासमा…(एक विश्लेषण)

नविन राज दाहाल

सहकारीमा ऋण लगानी जोखिममा पर्नु एक कारण जलवायु परिवर्तनको नकारात्मक असरहरु पनि हो । जलवायु परिवर्तनका कारणले सहकारीको सदस्यहरु ऋण लिने र कृषि तथा पशुपालनमा लगानी लगाउने गर्दछन् । वास्तवमा उत्पादन र पशुपालनको क्षेत्रमा दिनादिन ह्रास आएको छ । लगानी जोखिममा छ । समयमा प्रतिफल आउँदैन । सदस्य चिन्तित छन् । कारण जलवायु परिवर्तनको विश्लेषण गर्दा समयको अन्तर विश्लेषण हो । त्यस मौषमको अन्तर विश्लेषण कम्तिमा १० वर्षको हुन्छ । हरेक दश वर्षमा कुनै मिल्ने समयमा कुनै नकारात्मक विपद् भएको छ वा प्रकृतिमा कुनै परिवर्तन देखियो भने त्यो जलवायु परिवर्तनका असर मानिन्छ। जस्तै पानिको सतह तल जानु, पहिले पाइने वनस्पतिहरु नदेखिनु, अन्नवालीमा अनौठो किरा लाग्नु, समयमा पानी नपर्नु, माटोको उर्वराशक्तिमा ह्रास आउनु, मानिसमा छालाको रोगहरु देखापर्नु, गर्मीमा अधिक गर्मीहुनु तथा जाडोमा अधिक जाडो हुनु र लु जस्ता रोगहरुले सवैभेगका मानिसहरु प्रभाबित हुदैगइरहेका छन् ।

यसको कारण अनियन्त्रित वनजंगल फडानी, हिमाली, पहाडी र चुरेक्षेत्रमा रहेको खनिज पदार्थ उत्खनन गर्नु हो। हिमाली, पहाडी र चुरेक्षेत्रमा वसोवास गर्ने अधिक बासिन्दा दाउरा तथा काठ काट्ने र बेच्ने पेशामा आश्रित छन् । जसको कारण वनको हैसियत बिग्रदो हुदैगइरहेको छ । आज भन्दा ३० वर्ष अगाडिको जंगलको अवस्था र अहिलेको जंगलको अवस्थालाई बिश्लेषण गर्दा अधिकमात्रामा वनजंगलको हैसियतमा अन्तर आएको हामीमा अवगत छ । सायद जलवायु परिवर्तनको कारणले गर्दा पनि दीर्घकालीन रुपमा लामो समयावधि देखि पृथ्वीमा चलिआएको जाडो, गर्मी, वर्षायाम, हिमपात र जलवायुको अवस्थामा आउने परिर्वतनका कारण यस भेगमा मानिसहरु समस्या भोग्न वाध्य छन् । जलवायु परिर्वतनका कारण पृथ्वीको वायुमण्डलमा तापक्रम, हावाको बहाव, वर्षाको अवधि र मात्रामा घटवढ भईरहेको छ, जस्तै हिउँ पग्लदैछ, पानीका मुहानहरु सुक्दैछन्, लामो खडेरी पर्नाले बालीनालीको उत्पादनमा ह्रास आईरहेको छ, बाढीपहिरोको प्रभाव वढ्दैछ, स्थानीय जातका बोटविरुवा र कृषि प्रजातिमा विभिन्न असरहरु देखिन थालेका छन्, बाली छिटो पाक्न र रुखविरुवाको फुलहरु छिट्टै फुल्न थालेका छन्, माल्थिलो उचाईमा लामखुट्टे पनि प्रशस्त पाईन र नयाँ रोगहरु देखिन लागेका छन् । वास्तवमा जलवायु परिवर्तनबाट हुने प्रभाव, सिङ्गो मानव समुदाय र प्रकृतिका लागि दिनानुदिन साझा चुनौतीको रुपमा सिर्जना भईरहेको छ । यस्ता चुनौतीहरुले सहकारी अभियानमा परिचालित कुल शेयर पूँजी ७३ अर्ब र परिचालित बचत रु.३ खर्ब २ अर्ब ऋण परिचालन रु.२७३ अर्ब पूँजीहरु कुनै माध्यमबाट जलवायु परिवर्तनको चपेटा छ । वास्तवमा प्रारम्भिक सहकारी संस्थामा करिब ६३ लाख सदस्यहरुले जलवायु परिवर्तनको नकारात्मक असरहरुलाई न्यूनीकरण गर्ने अभ्यासमा जुट्नु पर्ने देखिन्छ ।

जलवायु परिवर्तनका असरहरुमा सिङ्गो मानव समुदाय र प्रकृतिका लागि दिनानुदिन साझा चुनौतीको रुपमा सिर्जना भइरहेको अवस्था छ । वास्तवमा यस बिषयलाई बिश्लेषण गर्दा सहकारी अभियानले यस सवाललाई ओझेलमा राखिएको पाइन्छ । सदस्य विचमा पनि असमझदारी सृजना भएको अवस्था छ । त्यसकारण सहकारी सदस्य–सदस्य विचमा सुमधुर सम्वन्ध कायम गरी सहकारीमार्फत सामाजिक उक्तरदायित्व बहन गर्ने अभिप्रायका साथ अनुकूल वातावरण वनाउन हावा, हुण्डरी, जाडो गर्मी खडेरी, अतिवृष्टि, आदि खप्न सक्ने बिरुवा बृक्षारोपण गरेर, कृषि वन प्रणाली अपनाएर, खनिज जन्य उर्जाको प्रयोगलाई विस्थापित गर्नको लागि संजिवन जस्ता जैविक उर्जाको रुपमा प्रयोग गर्न सकिने जैविक ईन्धनमा सहकारीमार्फत लगानी प्रवर्धन गरेर, भू तथा जलाधार संरक्षण हुने गरी घाँस, बाँस, निगालो रोपेर, जैविक विविधताको हिसाबले बहुमल्य वनस्पति र जीवजन्तु जोगाएर, हत्तपत्त रोगब्याधिवाट नमर्ने विउबिजन, पशुपंक्षी हुर्काएर, चर्को जाडो, गर्मी, घामपानी सहन सक्ने कृषि बाली, गाईबस्तु बाख्रा पाल्न सदस्यहरुलाई प्रोत्साहन गरेर, खेर गएको जग्गालाई हराभरा राखेर र सुधारीएको चुलोको प्रयोग गरेर पनि हामि आफ्नो प्रयासहरु गर्न सकिन्छ ।

सहकारिताको अभ्यासबाट विश्वव्यापी रुपमा स्थानीय उत्पादनलाई विश्वव्यापी सेवाको रुपमा स्थापित गरिनु पर्छ । सहकारी पनि सामुदायिक विकास सेवालाई वोकेर हिड्ने डोको हो । सवै सहकारी सदस्यहरु एक हुनु पर्ने अवस्था आएको छ ।

यदि समयमा हामिले यसको न्यूनीकरण गरिएन भने हामिले देखेको जीवजन्तु हाम्रा भाबी पुस्ताले तस्बीरमा मात्र देख्न पाउनेछन् । र भाबी पुस्तामा पानीकालागि झगडाको बिउ रोपेर मर्नु भन्दा आजैदेखी सदस्यहरुमा जलवायु अनुकूलको पूँजी परिचालनमा, वातावरणमैत्री लगानीको वातावरण वनाउन हामि एक हुनु पर्छ । सहकारीको विभिन्न दिवसहरु मनाउँदा बोट बिरुवा रोपौ, आफु बसेको क्षेत्रलाई हराभरा राखौ र पानीको मुहान तथा स्थानको वातावरणीय संरक्षण गरौं । अवस्य केही भएपनि यस जलवायु परिवर्तनको कारणले ल्याएको असरमा न्यूनीकरणको सवालमा हातेमालो गर्दै सवैको साझा बुझाई कायम गरी आजैदेखि सहकारीमार्फत वातावरणको संरक्षण गरि साकोसहरुले भावि दिनमा कार्वन व्यापारमा पाइला टेक्ने वातावरण सृजनामा जुटौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *