म्याग्दी,१५ वैशाख । अस्पतालमा चेकजाँच गर्न आउने बिरामीमा एटिजेन्ट परीक्षण गर्दा दैनिकजसो कोरोना संक्रमित भेटिन थालेपछि म्याग्दीको सदरमुकाम बेनीस्थित बेनी अस्पतालमा आकस्मिक बाहेक अन्य सवै सेवा अनिश्चितकालीन बन्द गरिएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.जितेन्द्र कँडेलका अनुसार कोरोना संक्रमणबाट बच्नका लागि भीडभाड हुन नदिने उद्देश्यले वैशाख १५ गते (आज) देखि बन्द गरिएको हो।
अस्पतालको ओपिडी सेवा बन्द भए पनि नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीलाई आकस्मिक कक्षमा नै सेवा दिने डा.कँडेलले बताए। उनका अनुसार ओपिडीमा चेजजाँच गराउन केही दिनका लागि अस्पताल नआउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।
चेकजाँच गराउनुपर्ने बिरामीले नजिकैका स्वास्थ्यचौकीमा पुगेर सेवा लिन र थप उपचारका आवश्यक परे बेनी अस्पतालका चिकित्सकले स्वास्थ्य चौकीका चिकित्सकहरुसँग सहजीकरण गर्ने सल्लाह भएको छ।
अस्पतालमा दैनिक सरदर २ सय ५० जना बिरामीहरुले ओपिडी सेवा लिने गरेका छन्। ओपिडी सेवा बन्द भए पनि प्रसूति सेवा, इन्जेक्सनलगायत आकस्मिककुनै पनि सेवाहरु भने बन्द हुने छैनन्।