काठमाडौं ,१६ बैशाख।आज निषेधाज्ञाको पहिलो दिन हो । कोरोना भाइरस संक्रमणको दोस्रो लहर नियन्त्रणका लागि सरकारले आजबाट १० जिल्लामा पूर्ण र तीन जिल्लामाआंशिक निषेधाज्ञाको आदेश जारी गरेसंगै आजबाट निषेधाज्ञा शुरु भएको हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रमा ५ सय र पहाडमा २ सय जना सक्रिय संक्रमित भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लगाउन सक्ने निर्णयलाई आधार मान्दै स्थानीय प्रशासन ऐनमा भएको व्यवस्थाअनुसार प्रजिअले निषेधाज्ञा लगाउने आदेश जारी गरेका हुन् ।
काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, दाङ, कैलाली, रुपन्देही, पर्सा र सुर्खेतमा पूर्ण निषेधाज्ञा छ । कास्कीमा पनि निषेधाज्ञा छ, सवारीसाधनमा जोर–विजोर प्रणाली लगाइएको छ । बर्दिया, बाग्लुङ, कालिकोट र बाग्लुङमा चाहिँ आंशिक निषेधाज्ञा जारि गरेको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एकसाता निषेधाज्ञाले मात्रै महामारीको चेन ब्रेक नहुने भन्दै थप एक साता निषेधाज्ञा गर्ने समेत निर्णय गरिसकेको छ ।
के–के छ निषेध ?
जिल्लाअनुसार फरकफरक आदेश भएपछि अधिकांश सर्तहरु एकैकिसिमका छन् । निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा बाहेक सार्वजनिक, निजी सवारीसाधन बन्द गरिएपनि एम्बुलेन्स, शव वाहन, दमकल, प्रेसलगायतका गाडी चल्न पाउने भएका छन् ।
सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय, चिडियाखाना बन्द गरिनेछन् ।
यस्तै अत्यावश्यक कामबाहेक हिँडडुलमा कडाइ गर्ने निर्णय गरिएपनि खाद्यान्त, तरकारी, दूधलगायत दैनिक उपभोग्य वस्तुहरूका लागि बजार खुला गरिने छ।
सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवा दिने कार्यालय सञ्चालन हुनेछ । सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले परिचयपत्र देखाएर आवतजावत गर्न सक्नेछन् ।
यसरी कार्यालय खोल्दा स्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने छ। सिसिएमसीले पनि १६ गतेदेखि नै निषेधाज्ञा गर्नुपर्ने सुझाव दिएको थियो।
कहाँ–कहाँ कहिलेदेखि निषेधाज्ञा ? हेर्नुहोस् सूची
सि.नं जिल्ला/क्षेत्र समयावधि कैफियत
१. काठमाडौं १६ गतेदेखि २२ गतेसम्म
२. भक्तपुर १६ गतेदेखि २२ गतेसम्म
३. ललितपुर १६ गतेदेखि २२ गतेसम्म
४. बाँके १३ गतेदेखि २० गतेसम्म
५. दाङ १७ गतेदेखि २५ गतेसम्म
६. कैलाली १६ गतेदेखि २२ गतेसम्म
७. रुपन्देही १६ गतेदेखि २९ गतेसम्म
८. पर्सा १६ गतेदेखि २२ गतेसम्म
९. कास्की १५ गतेदेखि २१ गतेसम्म जोर–विजोर
१०. सुर्खेत १५ गतेदेखि २१ गतेसम्म
११. बर्दिया १३ गतेदेखि २० गतेसम्म आंशिक निषेधाज्ञा
१२. बाग्लुङ ७ गतेदेखि १७ गतेसम्म बाग्लुङ नपाको ३ वडामा मात्र
१३. कालिकोट १० गतेदेखि १७ गतेसम्म खाँडाचक्र नपा ११ मा मात्र