विज्ञान/प्रविधि

आइतबार सार्वजनिक हुँदै नागरिक एपको फुल भर्सन, के आउला नयाँ सुविधा ?

काठमाडौं,१७ वैशाख । सरकारले सम्भव भएसम्मका सबै सरकारी सेवा एउटै एपबाट उपलब्ध गराउने उद्देश्यका साथ ल्याएको नागरिक एपको फुल भर्सन आउने भएको छ । आउँदो आइतबार एक विशेष कार्यक्रमबीच सरकारले नागरिक एप औपचारिक रुपमा सार्वजनिक गर्ने भएको हो । 

आउँदो आइतबार सरकारले राष्ट्रि सूचना तथा सञ्चार प्रविधि दिवस मनाउँदैछ । त्यसै सन्दर्भमा नागरिक एप औपचारिक रुपमा सार्वजनिक गर्ने कार्यक्रम रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले जनाएको छ । 

‘आईसीटी डेको अवसरमा प्रधानमन्त्री ज्युबाट नागरिक एपको औपचारिक सुभारम्भ गर्ने कार्यक्रम छ,’ स्रोतले टेकपानासँग भन्यो । यस अघि गत माघ २ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले परीक्षणको रुपमा नागरिक एपको बेटाभर्सन सार्वजनिक गरेका थिए ।

बेटा भर्सनमै एपबाटै स्थायी लेखा नम्बर (प्यान) लिन सकिने सेवा सेवा रहेकोमा पछिल्लो समय पुलिस क्लियरेन्स रिपोर्ट समेत लिन सकिने बनाइएको छ । यसका साथै एपमा नागरिक लगानी कोष, कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष र प्यानको विवरण हेर्न सकिने सुविधा पनि छ । 

त्यसैगरी पछिल्लो समय स्वास्थ्य बीमा कार्यक्रम समेत नागरिक एपमा जोडिएको छ । नागरिकले हेलो सरकारमार्फत विभिन्न सार्वजनिक तथा सरकारी सेवाको विषयमा नागरिक एपमार्फत नै गुनासो टिपाउन सकिने सुविधा छ । 

नागरिक एपमा खाता खोल्न आफ्नै नामको मोबाइल नम्बर अनिवार्य गरिएको छ । सुरुमा नेपाल टेलिकम र एनसेलको नम्बरबाट मात्र नागरिक एपमा खाता खोल्न सकिने अवस्था रहेकोमा पछिल्लो समय स्मार्ट टेलिकमका नम्बर समेत नागरिक एपमा जोडिएका छन्

बेटा भर्सन सार्वजनिक भएपछि धेरै प्रयोगकर्ताले आफ्नो नागरिकता फेला नपरेको तथा त्रुटी रहेको भन्दै एपमा खाता खोल्न नपाएको गुनासो गरेका थिए । तर पछिल्लो समय गृह मन्त्रालयले नागरिकता सम्बन्धि समस्या समाधान गर्न छुट्टै सिस्टम विकास गरी सञ्चालनमा ल्याइसकेको छ ।

नागरिक एप प्रयोगकर्ताले नागरिकताको विवरण फेला नपरेको वा त्रुटी देखिएको अवस्थामा सँगै आउने विकल्पमार्फत त्यसको समाधानका लागि अनुरोध पठाउन सक्छन् । नागरिकताका साथै मतदाता परिचयपत्र वा राहदानीबाट समेत नागरिक एपमा खाता खोल्न सकिन्छ । 

नागरिक एप औपचारिक रुपमा सार्वजनिक भएसँगै थप विशेष सेवा तथा फिचर समेत उपलब्ध हुने अपेक्षा गरिएको छ । यद्यपी कुन कुन सेवा तथा फिचर एपमा आउँदैछन् भन्ने विषयमा भने स्पष्ट जानकारी बाहिर आएको छैन ।

बेटा भर्सनमै रहेको एपको डाउनलोड एन्ड्रोइड र आईओएसमा गरी ५ लाख नाघिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *