Featured Slider Top News स्वास्थ्य

कोरोना संक्रमण १ हप्तामा १३६ प्रतिशतले वृद्धि

काठमान्डाैं,२० वैशाख। नेपालमा कोरोना संक्रमणको दर डरलाग्दो तरीकाले वृद्धि भइरहेको छ । वैशाख दोस्रो साताको तुलनामा तेस्रो सातामा संक्रमण १३६ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सबैभन्दा बढी लुम्बिनी प्रदेशमा २३३ प्रतिशतले संक्रमण दर बढेको छ । यसैगरी कर्णालीमा २१६ प्रतिशत, सुदूरपश्चिममा १८४ प्रतिशत, वाग्मतीमा १८३ प्रतिशत र गण्डकीमा १०९ प्रतिशतले कोरोना संक्रमण बढेको छ । प्रदेश १ मा १७४ र प्रदेश २ मा १११ प्रतिशतले कोरोना बढेको देखिएको छ ।

एक महीनाअघि नेपालमा संक्रमण सयभन्दा कम रहेकोमा आइतवारको तथ्यांक हेर्दा दैनिक संक्रमण दर नै ७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतवार मात्र ७ हजार १३७ जनामा कोरोना पुष्टि भएको छ भने देशभर सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ पुगेको छ । मन्त्रालयका अनुसार आइतवार काठमाडौं उपत्यकामा मात्रै ३ हजार ५९४ नयाँ संक्रमित फेला परेका छन् । आइतवार थप २७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ३२५ पुगिसकेको छ ।

अघिल्लो वर्ष सरकारले निजी अस्पताललाई पनि केही प्रतिशत शय्या अनिवार्य रूपमा कोभिडका लागि छुट्ट्याउन निर्देशन दिएकोमा यस वर्ष निजी अस्पताललाई कोभिड उपचारका लागि अनिवार्य गरेको छैन । निजी अस्पताललाई अस्पताल बेड अनिवार्य नगरेका कारण निजीका शय्या खाली रहे पनि सरकारीमा चाप बढेको छ । चिकित्सकहरूले अहिले अन्य रोगका बिरामीको संख्या पनि घटेकाले निजीका शय्यासमेत कोभिड उपचारका लागि प्रयोग गर्न सकिने बताउँदै आएका छन् । ‘निजी अस्पताललाई समेत समेटेर तथा अस्थायी संरचना बनाएर कोभिडका बिरामीको उपचार गर्न सकिन्छ,’ महामारी विशेषज्ञ चिकित्सक डा. शेरबहादुर पुनले भने । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *