राजनीति

प्रदेश ५ को राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव, कांग्रेसको आपत्ति

काठमाडौं। प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव त्यहाँको प्रदेश सभामा दर्ता भएको छ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रदेश ५ को राजधानी र नामबारे सहमति जुटेपछि प्रदेश सरकारले उक्त प्रस्ताव प्रदेशसभामा दर्ता गराएको हो। यसअघि प्रदेश मन्त्रिपरिषद्ले राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने निर्णय गरेको थियो। 

प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले उक्त प्रस्ताव पेस गरेका हुन्।

प्रदेशसभा सचिवालयका प्रवक्ता श्यामप्रसाद केसीले सोमबार बस्ने प्रदेशसभा बैठकमा उक्त प्रस्तावमाथि छलफल हुने बताए। ‘राजधानी भालुवाङ, र नाम लुम्बिनी राखेर प्रस्ताव पेस भएको छ,’ उनले भने, ‘सोमबार प्रदेशसभा बैठक बस्दैछ, त्यही दिन प्रस्तावमाथि छलफल हुनेछ।’

राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामकरण र स्थायी राजधानी तोकिन सकेको थिएन।

रुपन्देही, कपिलवस्तु वा दाङमध्ये कहाँ राजधानी राख्ने भन्नेमा विवाद थियो। प्रदेश ५ का पार्टी इञ्चार्जसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेल दाङमा राजधानी बनाउने पक्षमा थिए। उता नेकपा महासचिव विष्णु पौडले भने प्रदेश राजधानी बुटवल बनाउनुपर्ने पक्षमा थिए।

प्रस्तावप्रति नेपाली कांग्रेसले विरोध जनाएको छ। प्रदेशको राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेशसभामा पेस गर्दै गर्दा कांग्रेस सांसद रमा अर्यालले विरोध जनाएकी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *