खेलकुद

म्यानचेस्टर सिटी पहिलोपल्ट च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी आफ्नो इतिहासमा पहिलोपल्ट युरोपेली क्लब प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

ऐतिहासिक फाइनल प्रवेश निश्चित गर्नका लागि घरेलु मैदान इथिहाड रंगशालामा सिटीले फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेइन् (पीएसजी)लाई २–० ले हरायो । पहिलो लेगमा २–१ को जित हासिल गरेको सिटी समग्रमा ४–१ ले विजयी भयो ।

बेमौसमी हिउँले प्रभावित खेलको सुरुमै गोलरक्षक एडर्सनले ६० यार्ड परदेखि दिएको पास सदुपयोग गरी रियल मेहेरेजले शानदार गोल गरी पहिलो लेगको अग्रतालाई बढाएका थिए ।

पीएसजीलाई खेल सुरु हुनुभन्दा अगाडि नै एउटा ठूलो झड्का लागेको थियो । उसका विश्वस्तरीय स्ट्राइकर केलियन एम्बाप्पे चोटका कारण बेन्चमै सीमित हुन पुगेका थिए ।

यद्यपी अलेक्जान्दर जिनचेन्कोले बक्सभित्र ह्याण्ड गरेपछि पेनाल्टी दिने रेफ्रीको निर्णय भिडियो अडियो असिस्टेन्ट रेफ्री (भार)ले उल्टाउनुअघिको समयमा पीएसजीले शानदार फुटबल खेलेको थियो र कडा टक्कर दिएको थियो ।

तर ६३ औं मिनेटमा मेहेरेजले सिटीलाई २–० को अग्रता दिलाउन फिल फोडेनको क्रसलाई उपयोग गरी व्यक्तिगत दोस्रो गोल गरे ।त्यसपछि पीएसजीले खेल शैली त्यस्तै हुन थल्यो जुन कारण पहिलो लेगमा इद्रिस गुयेले रातो कार्ड पाएका थिए । फर्नान्डिन्होमाथिको अनावश्यक फलका कारण एंगेल डी मारियाले रातोकार्ड पाए ।

२९ मे मा इस्तानबुलमा हुने फाइनलमा सिटीले चेल्सी र रियल मड्रिडबीचको विजेतासँग खेल्नेछ । यो खेल आज राती हुनेछ । पहिलो लेगमा चेल्सीले घरेलु मैदानमा रियलसँग १–१ गोलको बराबरी खेलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *