राजनीति

सिन्धुपाल्चोकमा भूकम्प स्मृति उद्यान बनाइने

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले भूकम्पबाट सबैभन्दा बढी क्षति ब्यहोरेको सिन्धुपाल्चोकमा निर्माण गरिने भूकम्प स्मृति उद्यानको काम यथाशीघ्र अघि बढाउन पहल गर्ने बताएका छन्।

बिहीबार सदरमुकाम चौतारामा भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत निर्माणको चरणमा रहेको भूकम्प स्मारक उद्यान समन्वय तथा सहजीकरणका लागि भएको बैठकमा उनले सो कुरा बताएका हुन्।

उक्त स्मृति उद्यानका संरक्षकसमेत रहेका सभामुख सापकोटाले राष्ट्रिय गौरवको आयोजना स्मृति उद्यान बनाउन कानूनी जटिलता हटाएर पूरा गरी छाड्ने प्रतिबद्वता जनाए।

विधि, विधान निर्माण गर्ने सङ्घीय संसद्को नेतृत्व गरेको हिसाबले बैठकमा उपस्थित भएको सभामुख सापकोटाले बताए। ‘यो राष्ट्रिय गौरवको आयोजना हो, यसले अन्तर्राष्ट्रिय महत्व राख्छ’, सभामुख सापकोटाले भने, ‘यसकारण बैठकमा मेरो उपस्थिति आफैँमा अर्थपूर्ण छ।’

समस्या निराकरणका लागि जोखिम आवश्यकता परे पनि दिन आफू तयार भएरै आएको बताए।

बैठकको अध्यक्षता गरेका सांसद तथा पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले सिन्धुपाल्चोकमा विद्यालय भवन निर्माणले देशकै अग्रता पाएजस्तै भूकम्प स्मृति उद्यान पनि सोही गतिमा बन्नुपर्ने धारणा राखे।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा, पूर्वसांसद सुभाष कर्माचार्य, जिल्ला अध्यक्ष झम्क नेपाल तथा नेपाली कांग्रेसका जिल्ला सचिव बिलबहादुर तामाङलगाएतले स्मृति उद्यान पुनःनिर्माणमा अड्किएको गाँठोलाई कुनै विधिद्वारा फुकाउनुपर्ने धारणा राखे।

बैठकमा भूकम्प स्मृति उद्यान निर्माणको हालसम्मको प्रगति र समस्याका बारेमा भूकम्प स्मारक उद्यान समन्वय तथा सहजीकरण समितिका सदस्यसचिव सन्तोषकुमार निरौलाले कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यपत्र प्रस्तुत गर्दै निरौलाले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट यही आर्थिक वर्ष २०७७ साउन २७ मा वन क्षेत्रको जग्गा सिफारिस समितिको सिफारिससहित पेश गर्न निर्देशन दिएको बताए।

उनका अनुसार सो समितिमा प्रमुख जिल्ला अधिकारी अध्यक्ष, जिल्ला समन्वय अधिकारी, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अधिकृत र सम्बन्धित नगरपालिकाको प्रमुख सदस्य रहेका छन्।

बैठकले सदस्यसचिव रहेका निरौला र वन डिभिजन कार्यालय सिन्धुपाल्चोकका डिभिजन प्रमुखलाई परामर्श गरेर समस्या सुल्झाउन जिम्मेवारी दिइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

यसैबीच भूकम्प स्मारक उद्यान समन्वय तथा सहजीकरण समितिका संयोजक यसअघि सांसद शेरबहादुर तामाङ रहेकामा बैठकले पूर्वसांसद सुभाष कर्मचार्यलाई संयोजकको जिम्मेवारी प्रदान गरेको छ। आफूले जिम्मेवारी पाएसँगै स्मारक उद्यान निर्माणमा पूर्णरुपमा लागिपर्ने कर्मचार्यले प्रतिबद्वता जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *