खेलकुद

टी-२० विश्वकप इन्डियामा नहुने सम्भावना

काठमाडौं,२२ वैशाख। मंगलबार इन्डियन प्रिमियर लिग (आइपीएल) स्थगित भएको घोषणा गरियो । भारतमा कोभिड-१९ संक्रमणमा पर्नेको संख्यामा व्यापक वृद्दी भएपछि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आइपीएल रोक्ने निर्णय गर्‍यो ।

आइपीएल स्थगन गरिएसँगै यस वर्ष भारतमा आयोजना हुने भनिएको टी-२० विश्वकप त्यही हुन्छ वा अन्तै सारिन्छ भन्‍नेबारेमा विभिन्‍न अड्कलबाजी सुरु भएको छ । यसैबीच भारतको लोकप्रिय अखबार टाइम्स अफ इन्डियाले टी-२० विश्वकप भारतबाट संयुक्त अरब इमिरेट्स (युएई) तर्फ सारिने दाबी गरेको छ । ‘यस्तो अवस्थामा विदेशी टिम भारत आएर विश्वकप खेल्न तयार हुने सम्भावना छैन ।

कोभिड-१९ को नयाँ लहरले विश्वकप रोक्न सक्छ भन्‍ने यथार्थलाई बीसीसीआईले नकारेको छैन । त्यसकारण, विश्वकप युएई हुनेछ,’ टाइम्स अफ इन्डियाले लेखेको छ । आइसीसीको तालिका अनुसार भारतले अक्टोबर-नोभेम्बरमा टी-२० विश्वकप आयोजना गर्नुपर्नेछ । तर बीसीसीआई भने १६ टिम सहभागी हुने प्रतियोगिता तोकिएको समयमा आयोजना गर्न आत्मविश्वासी नेखिएको टाइम्स अफ इन्डियाको रिपोर्टमा उल्लेख छ ।

यद्यपि टी-२० विश्वकप आयोजना स्थान परिवर्तन सम्बन्धि निर्णय भने भइसकेको छैन । अबको एक महिनामा निर्णय आउने अनुमान गरिएको छ । उता भारतीय समाचार एजेन्सी पीटीआईले पनि यस्तै दाबी गरेको छ । बीसीसीआई र भारतीय केन्द्रिय सरकारका उच्च अधिकारीहरुबीच छलफल भएको र टी-२० विश्वकप यूएईतर्फ सार्ने विषयमा एकमत भएको पीटीआईले जनाएको छ । भारतमा आउँदो सेप्टेम्बरमा कोभिड-१९ को तेस्रो लहर सुरु हुने अनुमान गरिएको छ । अहिले नै दैनिक तीन लाख संक्रमति फेला परिरहेको छन् ।

यस्तो परिस्थितिमा टी-२० विश्वकप आयोजना गर्न बीसीसीआई हच्किएको हो ।युएईमै किन ? युएईले टी-२० विश्वकप आयोजनाका लागि शारजाह, दुबई र आबु धाबीमा रहेका मैदान उपलब्ध गराउन सक्छ । टी-२० विश्वकपमा सहभागी हुने खेलाडी तथा अन्य पाहुनाले तीन सहरबीच यात्रा गर्न हवाई सेवाको प्रयोग गरिरहनु पर्दैन । यसअघि नै युएईमा आइपीएल सफलतापूर्वक आयोजना गरिसकिएको छ । ‘भारतमा खेल हुने रंथशालाको संखया घटाए पनि हवाई यात्रा गर्नैपर्छ । एक ठाउँबाट अर्को ठाउँमा पुग्दा कोभिड-१९ संक्रमण फैलने खतरा रहन्छ । त्यो बाहेक खेलाडीहरु भारतीय सहरमा खेल्न मानसिक रुपमा तयार नहुन सक्छन्,’ स्रोतलाई उदृत टाइम्स अफ इन्डियाले लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *