Top News पालिका खबर स्वास्थ्य

बागलुङ नगरपालिकाद्वारा अक्सिजनसहित ३५ शैयाको आइसोलेशन निर्माण

बागलुङ,२३ बैशाख। बागलुङ नगरपालिकाले नगर क्षेत्रमा कोरोना सङ्क्रमणको दर ह्वात्तै बढेपछि अक्सिजनसहितको आइसोलेशन कक्ष तयार पारेको छ ।

नगरपालिकाले आफ्नो पुरानो कार्यालय रहेको वाड नं. ३ स्थित रातामाटामा ३५ शैया अक्सिजनसहितको आइसोलेशन निर्माण गरेको जनाएको छ । नगरपालिका क्षेत्रमा रहेको धौलागिरि अस्पतालमा रहेका आइसोलेशन शैया भरिँदै जान थालेपछि आइसोलेशन कक्षको निर्माण गरेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । “अस्पतालमा रहेको २५ शैया क्षमताको आइसोलेशन लगभग भरिन थालेको छ, कोरोनाको दोस्रो लहरमा अक्सिजनको निकै आवश्यक रहेको हुँदा अक्सिजनसहितको आइसोलेशन निर्माण गरेका हौँ”,

नगरप्रमुख पौडेलले भन्नुभयो, “अहिले ३५ शैयाकाे तयारी गरेका छौँ, सङ्क्रमित बढ्दै गए शैया थप्दै जानेछौँ ।” धौलागिरि अस्पतालमा २३ सङ्क्रमित उपचाररत छन् । अस्पतालमा २५ जनालाई राखेर उपचार गर्न सक्ने क्षमता छ । गत वर्ष सङ्क्रमित धेरै भएपछि धौलागिरि बहुमुखी क्याम्पसमा राखेर उपचार गरिएको थियो ।

अस्पतालमा उपचाररत दुई जनाको बिहीबार मृत्यु भएको छ । एक सङ्क्रमित र अर्का एकजना शङ्कास्पद बिरामीको मृत्यु भएको थियो । आइसोलेशनका सबै शैयामा अक्सिजन जडान भएकाले अक्सिजन आवश्यक सङ्क्रमितलाई समेत आइसोलेशन शैयामा राख्न सकिने नगर स्वास्थ्य शाखा संयोजन रामप्रसाद खनालले बताउनुभयो ।

जिल्लामा सङ्क्रमित भएका अधिकांशलाई अक्सिजन आवश्यक पर्ने भएकाले आइसोलेशन निर्माण गर्दा अक्सिजन जडान गर्नुपरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *