Featured Slider जीवन यात्रा

वरिष्ठ लोकगायक राजु परियारले आफ्नो बारे गरे यसरी खुलासा । हेरौ जीवनको भोगाईहरुको कथा जीवन यात्रा ।


काठमाडौँ,२५ बैशाख। लोकवाङमयको एक उज्जवल नक्षत्र अर्थात राजु परियार । जो नेपाली लोक मान्यता र परम्परालाई शिरोधार्य गर्दै दुइ दशकदेखि अविछिन्न रुपमा लेखन तथा गायनमा समर्पित छन । उनको अभावमा नेपाली लोकसंगीत अधुरो र अपुरो मान्ने गरिन्छ । मौलिक पक्ष हराउदै जाने चिन्ता बढेको बेला राजु परियारको आगमनले नेपाली लोकसंगीतमा पुनर्जागरण नै ल्याइदियो । त्यसैले त उनी निसन्देह लोक संगीतको एक सत्तिसाल हुन । धरोहर हुन ।
बाबु मंगलसिंह र आमाको सन्तमायाको कोखबाट २०३७ असार १५ गते लमजुङको गाउँ सहर गाविसमा जन्मिएका राजु उमेरले चार दशक पुग्दै गर्दा मादलको खरी र सारंगीको धुन बोकेर विश्वका दर्जनौ मुलुक परिभ्रमन गरेका छन ।

गुरुङ तथा मगर समुदायको बाहुल्य रहेको लमजुङको गाँउशहर आफैमा लोक जीवन लोकपरम्परा र संस्कृतिको खानी हो । त्यहि वातावरणले नै उनी बाल्यकालबाटै लोकगीत तथा संस्कृतीप्रेममा बशिभुत भए । गर्भैदेखि लोक संस्कृतिको साइनो लिएर जन्मिएका राजुलाई सनाइ बादक हजुरबाबुको साथ र प्रेरणाले पनि यसतर्फ लाग्न प्रेरित गरिरह्यो ।

गाँउमा हुने विवाह ब्रतबन्ध मेला पर्व तथा उत्सवमा ९ बर्षकै उमेरदेखि गित गाउन थालेका राजु यतिसम्म समर्पित थिए कि रत्यौलीमा समेत आमाको पोशाक लगाउन गीत गाउन जान्थे । यहि हुटहुटीले नै उनलाई गाँउबाट जिल्ला,जिल्लाबाट क्षेत्र हुदै देश विदेशसम्म पुर्यायो । बाल्यकाल र गाउन शुरु गर्दाको गाँउको समय अहिले पनि उनलाई आखामा झलझली याद आइरहन्छ । त्यो बेलासँग जोडिएका अविस्मरणीय क्षण कति छन कति ।

२०५६ सालमा काठमाण्डौ पसेर पुकार तथा दोभान दोहोरी साझ हुदै रेडियो नेपालसम्म पुग्दा उनको माग चुलिइसकेको थियो । जातीय विभेदले जरो गाडेको समाजमा संघर्षका पहाड छिचोल्दै लोकगित संगीतमै तपस्यारत हुदा उनको चर्चा र साख यति उचाइमा पुग्यो कि त्यसको ब्यवस्थापन गर्न आफैलाइ कठिन भयो । १६ वटा आफ्नै एल्बम बजारमा आउदा उनले गाएका गीतको संख्या १४ हजार भन्दा बढी पुगेको छ ।

परीवारको साथमा राजु परियार

साधना र तपस्यालाई नै सफलताको गुरुमन्त्र मान्ने राजुले विश्वभर रहेका नेपालीको अथाह प्रेमका साथै सयौ पुरस्कार र सम्मान प्राप्त गरेका छन । प्रवल जनसेवा श्री,भारतबाट प्रदान गरिने अम्बेडकर पुरस्कार,नातिकाजी युवा प्रतिभा सहित रेडियो, एफएम स्वदेश र विदेशका विभिन्न सङ्घ संस्थामार्फत सयौ पुरस्कार पाइसकेका राजुले लोक संस्कृतिलाई हाम्रो सभ्यताकै जग मान्छन । यसको संरक्षण र संबर्धनका लागि कलाकारको भूमिका महत्वपूर्ण हुने उनको बुझाइ छ ।

राजुको जीवन भोगाइको सिकाइ हो ( पौडिन जान्नेका लागी जीवन महासागर र पौडिन नजान्नेहरुका लागि जिवन कुलो मात्रै हो । जीवन लोकसंगीत क्षेत्रमै समर्पित गर्ने बाचा गरेका राजुले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म गाइने मौलिक लोकगीतको खोज अनुसन्धान शुरु गरेका छन । सांस्कृतिक विविधताका विच मौलिक संस्कृति तथा लोकपरम्परा जगेर्नाका लागि उनले शुरु गरेको अभियान स्तुत्य छ ।

उचाइमा पुगेपछि आफ्नो थातथलो विर्सियो भन्ने गुनासो चलिरहदा आफ्नै पुर्ख्यौली थलोमा घर बनाएर बस्ने उनको योजना छ । जातीय विभेद आफ्नो मस्तिस्कमै नराखेको बताउने उनी विद्यमान विकृति क्रमिक रुपमा संग्लिदै जानेमा आशावादी छन । उनको यहाँसम्मको यात्राका लागि पारिवारिक साथ सहयोग पनि उत्तिकै महत्वपूर्ण छ । गायनबाट संसार जितेका राजुको साथमा उनकी पत्नी तथा तीन छोराछोरी पनि उत्तिकै आभारी देखिन्छन ।

लोकगीत लेखन तथा गायनबाट कमाएको ख्याती र प्रख्याती ब्यवस्थापन गर्न नसक्दा उनी केहि समय अनेक झमेलामा फसेपनि अहिले नयाँ अध्याय आरम्भ भैसकेको छ । नेपाली लोकसंगीतलाई फराकिलो बनाउन लक्ष्यमा एकलब्य जस्तै बनेका राजु परियारको संघर्षमय जीवनयात्रा जो कसैका लागि पनि उदाहरणीय छ । प्रेरणादायी छ । आगामी यात्रा पनि अझै सफल र सुखद रहोस उनलाइ हाम्रो पनि शुभकामना ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *