सहकारी दर्पण

अन्तर्राष्ट्रिय रुपमा ‘सर्टिफाईड’ हुने किसान बहुउद्देश्यीय नेपालको पहिलो सहकारी

कैलाली : कैलाली जिल्लाको लम्की स्थित किसान बहुउद्देश्यीय सहकारी संस्था सदस्य सुरक्षणका लागि अब्बल संस्थाको रुपमा विभुषित भएको छ ।

सदस्य सुरक्षणका विश्वव्यापी सिद्धान्तहरुको पालना गरेको भन्दै संस्थाले अन्तराष्ट्रिय स्तरको ‘स्मार्ट सर्टिफिकेट’ प्राप्त गर्न सफल भएको छ ।

सदस्य सुरक्षणका सूचकांकहरुको अनुगमन तथा मुल्यांकन गर्ने अन्तराष्ट्रिय सञ्जाल ‘स्मार्ट क्याम्पियन’ ले संस्थालाई सदस्य सुरक्षणमा अब्बल संस्था रहेको ठहर गर्दै प्रमाणपत्र प्रदान गरेको हो ।

क्याम्पियनले निर्धारण गरेका सदस्य सुरक्षणका ७ सिद्धान्त तथा १९२ मानकहरु किसान सहकारीले पूर्णरुपमा पालना गरेको अन्तराष्ट्रिय अभियानले ठहर गरेको छ ।
सिद्धान्त अनुसार सहकारी संस्थाले सदस्यहरु माथि अधिक कर्जाको भार नपारेको, वित्तीय सेवाहरुको निर्माण, परिमार्जन तथा वितरणमा प्रभवकारी प्रक्रिया अवलम्बन गर्ने गरेको, वित्तीय सेवाको मुल्य निर्धारण गर्दा जिम्मेवार हुने गरेको, वित्तीय सेवा प्रवाह गर्दा लाग्ने शुल्क तथा मुल्यबारे पारदर्शिता कायम गर्ने गरेको, सदस्यहरुसँग सम्मान जनक व्यवहार गर्ने गरेको, सदस्यका सुचनाहरु गोप्य राख्ने गरेको र सदस्यका गुनासा सुन्ने चुस्त दुरुस्त संयन्त्र निर्माण गरि प्रभावकारी प्रयोग गरेको अभियानले ठहर गरेको छ ।

किसान बहुउद्देश्यीय सहकारी संस्था सदस्य सुरक्षणका लागि विभुषित हुने नेपालको पहिलो वित्तिय संस्था बनेको छ । यस प्रमाणपत्रको म्याद ४ वर्ष रहनेछ । ४ वर्षपछि पुनः प्रमाणिकरण प्रक्रियामा गई संस्थाले सिद्धान्तहरुको पालनालाई निरन्तरता दिएको साबित गर्न सक्नु पर्ने प्रमणपत्र जारी गर्ने निकाय ‘स्मार्ट क्याम्पियन’ को नीति रहेको छ ।

किसान सहकारीले सन् २०१५ मा पहिलो पटक सदस्य सुरक्षणमा समर्थन जनाउँदै अभियानमा जोडिएको थियो । अन्तर्राष्ट्रिय स्तरबाट प्रमणपत्र प्राप्त गरेपछि संस्थाका अध्यक्ष तथा महाप्रबन्धकले संस्थासंग जोडिनु भएका सम्पूर्ण सरोकारवाला व्यक्ति तथा निकायहरुलाई बधाई दिनु भएको छ । आगामी दिनमा समेत सदस्य सुरक्षण प्रति सचेत भईरहने थप प्रेरणा प्राप्त भएको महाप्रबन्धक डम्बर बहादुर शाहले जानकारी दिनुभयो । सहकारी खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *