पर्वत । कोरोना महामारीपछि रोकिएको मध्यपहाडी लोकमार्गको पर्वत खण्डको निर्माण कार्य सुरु भएको छ । गत चैत्रको दोस्रो साता रोकिएको निर्माण कार्य असोजको दोस्रो सातादेखि सुरु भएको हो ।
पर्वत खण्डको निर्माण जिम्मा लिएको लामा कन्स्ट्रक्सन कम्पनीले वर्षा रोकिएसँगै काम थालेको हो । भदौमा म्याद सकिने भएपनि अहिलेसम्म ६० प्रतिशत काम सकिएको छ ।
‘लकडाउनले रोकिए पनि अब काम तीब्र रुपमा अघि बढ्छ’, निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालले भने ‘घाम लागेका कारण दशैपछि कालोपत्रेको काम पनि थाल्छौ ।’
निर्माण कम्पनीका अनुसार आयोजनाको पर्वत प्रवेशद्वारदेखि मालढुङ्गासम्मको २३ दशमलब ७६९ किलोमिटर स्तरोन्नतिको कम्पनीले रु.८३ करोड ९८ लाख ठेक्का लिएको हो ।
पर्वत खण्डको २३ किलोमिटर मध्ये संरचनागत काम ९५ प्रतिशत सकिएको छ । बागलुङको सीमाना मालढुङ्गादेखि नयाँपुल सम्म करिब ५ किलोमिटर कालोपत्रे गरिएको छ ।
मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापा मगरले काम सुरु गरेको व्यवस्थापनलाई सहयोग गर्न थप जनशक्ति तथा स्रोत साधन परिचालित भएकाले असारसम्ममा काम सकिने विश्वास व्यक्त गरे ।
उनले निर्माण व्यवसायीले असारसम्मको म्याद मागेकाले समयमा कालोपत्रेको सक्ने जानकारी दिए। रोकिएको काम सुरु भएपछि लोकमार्गको पर्वत खण्डमा पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी सहितको टोलीले अनुगमन गरेको छ ।