अर्थ

सार्वजनिक यातायात खुल्यो, यात्रु छैनन्

काठमाडौं । कोभिड–१९ का कारण झण्डै ६ महिना बन्द रहेको सार्वजनिक यातायात खुला भएपनि यात्रु नहुँदा यातायात व्यवसायीहरु समस्यामा परेका छन् ।

विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरसका कारण चैत १० देखि बन्द रहेको लामो दूरीका सार्वजनिक यातायात सरकारले असोज १ देखि खुला गर्ने निर्णय गरेपनि यात्रु नहुँदा व्यवसायी समस्यामा परेका हुन् ।

कोभिड–१९ सङ्क्रमण हुनुभन्दा पहिले पूर्वाञ्चल क्षेत्रमा प्रत्येक दिन ४५० सार्वजनिक सवारी साधन ओहोरदोहोर हुँदै आएपनि अहिले यात्रु नहुँदा दैनिक १५० सवारी साधन एक सिटमा एक यात्रु राखेर ओहोरदोहोर गर्न बाध्य छन् ।

काठमाडौँबाट पूर्वका ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, धनकुटा, सुनसरी, झापा, मोरङ, तेह्रथुम, उदयपुर, सिरहा र सप्तरी जाने ५४ बस कम्पनी मिलेर बनेको पूर्वाञ्चल यातायात व्यवसायी समन्वय प्रालिले यात्रु नभएकाले आलोपालो बस सञ्चालन गर्दै आएको छ ।

प्रालिका सचिव रुद्रबहादुर कार्की सार्वजनिक यातायातमा राहतको प्याकेज नल्याउँदा व्यवसायीहरु मर्कामा परेको बताउँछन् । ‘बन्दाबन्दीका कारण ६ महिना थन्किएर बसेका सवारी साधन मर्मत सम्भार गर्न लाखौँ खर्च लागेपनि यात्रु नहुँदा समस्यामा परेका छौँ”, उनी भन्छन् । सार्वजनिक यातायात खुलेसँगै बैँक तथा वित्तीय संस्थाले किस्ताको लागि ताकेता गर्न थालेपछि व्यवसायी थप मर्कामा परेको उनको भनाइ थियो ।

मुलुकको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कबाट थोरै मात्रामा सवारी साधन बाहिरीने गरेका छन् । कोभिड–१९ को सङ्क्रमण हुनुभन्दा पहिले प्रत्येक दिन ६०० देखि ७०० हाराहारीमा सार्वजनिक यातायात उपत्यका बाहिरीने गरेपनि अहिले प्रत्येक दिन २०० देखि २५० सार्वजनिक यातायात बाहिरीने गरेका छन् ।

नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर नयाँ बसपार्कमा यात्रुको चाप कम हुँदै गएको बताउँछन् । ‘विगतका वर्षमा दशैँको एक महिनाअगाडि नै नयाँ बसपार्कमा भीड लाग्ने गरे पनि अहिले कोभिड–१९ का कारण यात्रुको चाप छैन’, उनी भन्छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला आन्तरिक उडानमा क्षमता बराबर यात्रु बोक्न पाउने र सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा बढी लिएर यात्रु बोक्न पाउने गरी सरकारले गरेको विभेदकारी निर्णयका कारण सार्वजनिक यातायातमा यात्रु नभएको बताउँछन् ।

टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान) का महासचिव दिपेन्द्र अधिकारी कोभिड–१९ अगाडि प्रत्येक दिन १०० हाराहारीमा काठमाडौँदेखि पोखरा, चितवन, लुम्बिनी र जनकपुर पर्यटक बस चल्ने भए पनि अहिले मुस्किलले तीन/चारवटा बसमात्र चलेको बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *