Top News स्वास्थ्य

अक्सिजन नभएपछि अस्पतालबाटै निकालिए बिरामी

काठमाडौँ, २९ बैशाख। जोरपाटीस्थित नेपाल मेडिकल कलेजले अस्पतालमा भएको अक्सिजनले साँझ ४ बजेसम्मलाई मात्र पुग्ने भएकाले त्यसअगावै आ–आफ्नो व्यवस्था गर्न बिरामी पक्षलाई आग्रह गर्दै मंगलबार बिहान सूचना जारी गर्‍यो ।

अक्सिजन उपलब्ध हुन नसक्ने भएकाले बिरामीलाई डिस्चार्ज गर्न लागिएको जानकारी नगरपालिका, प्रहरी र स्वास्थ्य मन्त्रालयलाई समेत गराएको सूचनामा उल्लेख थियो । सूचनापछि उपचाररत कोरोना संक्रमित र उनका आफन्त आत्तिए । ‘राति पनि अक्सिजन चाहिनेजति दिइएन । बिहान त अक्सिजनै सकिने सूचना आयो,’ एक संक्रमितका आफन्तले भने ।नेपाल मेडिकल कलेजको अस्पतालमा अक्सिजन सपोर्टमा ९९ संक्रमित उपचाररत थिए ।

भनसुन गरेर र पालो कुरेर बल्ल बेड पाएकाहरू धेरै थिए । उक्त सूचनापछि बन्दोबस्त मिलाएर २२ जना अन्यत्रै गएका छन् । जसमा आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमित पनि छन् । संक्रमितको संख्या हरेक दिन बढे पनि अक्सिजन पाउनै समस्या भएपछि भर्ना भएका बिरामीलाई पनि डिस्चार्ज गर्नुपर्ने अवस्थामा पुगेको अस्पतालका निर्देशक डा. राजेशकिशोर श्रेष्ठले बताउनुभयो ।‘म आफैं रातभरि लाइन बसें । यता अस्पतालमा अक्सिजन सकिन लाग्यो भनेर बारम्बार फोन आउँथ्यो । लाइन बस्दाबस्दै अक्सिजन भर्ने मेसिन बिग्रियो भनेपछि के हुन्छ होला ?’

उनले भने, ‘अक्सिजन सकिन लाग्यो भनेर बिरामी पनि रुन थाले । अक्सिजन नभएकैले हुन सक्ने दुर्घटना रोक्न बिरामी डिस्चार्ज गर्न बाध्य भयौं ।’ डा. श्रेष्ठले अक्सिजन प्लान्टमा लाइन बसेका बेला पनि अरूले पालो मिच्ने गरेको सुनाउनुभयो । उहाँले अब नयाँ बिरामी पनि नलिने निधो गरेको बताउनुभयो।ललितपुरको नेपाल मेडिसिटी अस्पतालले पनि अक्सिजन अभावकै कारण थप संक्रमित भर्ना लिन छाडेको भन्दै मंगलबार विज्ञप्ति जारी गरेको छ ।

विज्ञप्तिमा भर्ना भएका संक्रमितलाई पनि अक्सिजन अभावका कारण उपचार गर्न नसकिने अवस्था निर्माण हुन सक्ने जनाएको छ । स्थिति सामान्य बनेर आवश्यक अक्सिजन र अन्य सामग्री प्राप्त भएसँगै नयाँ भर्नाका लागि अस्पताल व्यवस्थापनबाट अर्को सूचना जारी हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।हरेक दिन ४ सय ५० देखि ५ सय सिलिन्डर अक्सिजन आवश्यक पर्नेमा सरकारबाट १ सय सिलिन्डर मात्र उपलब्ध गराउने जानकारी पाएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राज राणाले बताउनुभयो ।

मेडिकेयर, हेल्पिङ ह्यान्ड्स, भारतमैत्री र दीर्घायुले अक्सिजन नभएकै कारण बिरामी लिने अवस्था नरहेको भन्दै आइतबार नै विज्ञप्ति निकालेको थियो ।‘अक्सिजन दिनुपर्ने बिरामी भर्ना लिन सकिएको छैन,’ मेडिकेयर अस्पतालका प्रशासकीय प्रबन्धक हरिभक्त सिग्देलले भन्नुभयो , ‘अक्सिजन सहज नभई बिरामी लिँदा अप्रिय घटना हुन्छ । त्यसैले अक्सिजन सहज नभएसम्म जटिल खालका बिरामी लिन सक्दैनौं ।’ ओम अस्पतालले पनि अक्सिजनको अभावमा नयाँ बिरामी भर्ना गर्न नसक्ने विज्ञप्ति जारी गरेको छ ।

‘सरकारको नियन्त्रित कोटामा आउने अक्सिजन अपर्याप्त भएकाले बिरामीको उपचारका लागि तत्पर र तीव्र इच्छा हुँदाहुँदै चिकित्सक, नर्सलगायतका मानव संसाधनसमेत पर्याप्त रहेको अवस्थामा पनि अक्सिजन अभावका कारण नयाँ बिरामी भर्ना गर्न असमर्थ भएको जानकारी गराउन चाहन्छौं,’ अस्पताल प्रशासनले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अक्सिजन आपूर्ति सहज हुनासाथ उपचार सेवा पूर्ववत् सञ्चालन हुनेछ ।’

सरकारी अस्पतालमा पनि अक्सिजन अभाव छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक संक्रमितले अक्सिजन नपाएपछि जोहो गरिदिन सामाजिक सञ्जालमा आह्वान नै गरिएको छ । कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *