

कैलाली,३१ बैशाख । नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको सुदूरपश्चिम प्रदेशमा अब नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना प्रवल भएको छ । केपी ओली र माधव नेपाल बिच सहमति पश्चात प्रदेश सरकार धरापमा परेको हो।
एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको सहमतिले सुदूरपश्चिममा एमालेको नेतृत्वमा सरकार गठनको बाटो खुलेको हो ।
५२ जना सदस्य रहेको प्रदेशसभामा एमालेका मात्रै २५ जना सांसद छन् । माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी (जसपा)का २ जना सांसद छन् ।
जनता समाजवादी पार्टीका दुवै जना सांसद पूर्व राजपा अर्थात् महन्थ-राजेन्द्र पक्षका भएका कारण प्रदेशमा एमालेको सरकार बन्ने पक्का भएको हो ।
‘२५ जना सांसद रहेको पार्टीले सरकारको नेतृत्व नगरेर १३ जना सांसद रहेको पार्टीलाई नेतृत्व दिने कुरा हुँदैन,’ पूर्व मन्त्री समेत रहेका एमालेका एक नेताले भने, ‘अब हाम्रो नेतृत्वमा सरकार बन्छ ।’
उनले केन्द्रमा शीर्ष नेताहरू बिचको निर्णायक संवादले प्रदेश सरकार परिवर्तनको बाटो खुलाएको बताए ।