स्वास्थ्य

अक्सिजनमा आत्मनिर्भर बन्यो प्रदेश एक

विराटनगर ,०२ जेठ। प्रदेश १ बाट मुलुकका अन्य स्थानमा पनि अक्सिजनको आपूर्ति गर्न थालिएको छ । मोरङ र सुनसरी प्रशासनको समन्वयमा अति नै आवश्यकता परेका स्थानमा प्राथमिकताका आधारमा अक्सिजन पठाउन थालिएको हो । अक्सिजनको चरम अभाव भएर कोरोना संक्रमितले ज्यान गुमाइरहेको घटना रोक्ने प्रयास स्वरुप प्रदेश १ बाट विभिन्न स्थानका अस्पतालमा अक्सिजन आपूर्तिको व्यवस्था मिलाइएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले प्रदेशमा अहिले अक्सिजन अभाव नरहेको बताए । ‘प्रदेशमा आवश्यकताभन्दा बढी नै उत्पादन भइरहेको छ,’ उनले भने, ‘यहाँको माग धानेर अन्यत्र पठाउने व्यवस्था मिलाइएको छ ।’ अक्सिजन आवश्यक पर्ने गम्भीर प्रकृतिका संक्रमितको अकालमा ज्यान गइरहेको अवस्थालाई रोक्ने प्रयास स्वरुप धमाधम अक्सिजन पठाउने काम भइरहेको निरौलाको भनाइ छ । उनका अनुसार यसअघि सामान्य अवस्थामा सिरहा, सप्तरी, धनुषा लगायतसम्म यहाँबाट अक्सिजन जाने गरेको थियो । तर अहिले कोरोनाका कारण सबैतिर हाहाकार हुँदा भैरहवा, डडेलधुरा, काठमाडौं, मकवानपुर, दाङलगायतका स्थानलाई पनि प्रदेशमा रहेका उद्योगहरुले भरथेग गनुपर्ने अवस्था आएको प्रजिअ निरौलाको भनाइ छ ।

माग भएका स्थानबाट खाली सिलिन्डर ल्याइएपछि मोरङ र सुनसरीमा रहेका उद्योगले भरेर पठाउने गरेको उनले बताए । विभिन्न स्थानबाट भएको मागका आधारमा आवश्यकता र जटिलताको अवस्था हेरेर प्रशासनको अनुमतिमा उद्योगले अक्सिजन आपूर्तिको व्यवस्था मिलाइरहेका हुन् । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले स्थल र हवाई मार्गबाट धमाधम अक्सिजन पठाउने काम भइरहेको बताए । नेपाली सेनाको स्काई ट्रकको प्रयोग गरेर विराटनगर विमानस्थल हुँदै हवाई मार्गबाट अक्सिजन पठाउने गरिएको छ । सेनाको जहाजबाट शनिबार मात्रै दुई पटक अक्सिजन भैरहवा लगिएको छ भने ढुवानीका अन्य साधनको प्रयोग गरेर स्थलमार्ग हुँदै पाँच सय ९२ सिलिन्डर बाहिर पठाइयो । एसपी खड्काले राज्यमा आवश्यकता खड्किएका बेला अक्सिजनमा प्रदेश १ ले ठूलो योगदान गरिरहेको बताए ।

I

एक साताको अवधिमा सुनसरीबाट दुई हजारभन्दा बढी सिलिन्डर अक्सिजन बाहिर पठाइसकिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए । संक्रमण तीव्र रुपमा फैलिएर अक्सिजनको माग बढ्दा स्वास्थ्य प्रणाली नै अस्तव्यस्त भएकाले आवश्यकता परेका स्थानमा पठाउन थालिएको उनको भनाइ छ । मोरङमा दुई र सुनसरीमा तीनवटा अक्सिजन उद्योग छन् । सबै उद्योगले दैनिक दुई हजार सात सय सिलिन्डरभन्दा बढी अक्सिजन उत्पादन गर्छन् । प्रदेश १ मा भने अहिले दैनिक एक हजार पाँच सय सिलिन्डरसम्म खपत हुने गरेको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बताए । अक्सिजनमा प्रदेश आत्मनिर्भर रहेको उनको भनाइ छ । मोरङमा मारुती र हिमाल तथा सुनसरीमा विनायक, पाथीभरा र दुर्गा उद्योगले धमाधम अक्सिजन उत्पादन गरिरहेका छन् ।

अक्सिजन उत्पादनका लागि अहिले सिलिन्डरसँगै कच्चा पदार्थको अभाव हुने अवस्था रहेको सुनसरीको दुहवीस्थित विनायक अक्सिजन इण्डष्ट्रिजका सञ्चालक पवनकुमार सारडाले बताए । माग चौतर्फी रुपमा बढेका बेला सिलिन्डरको अभाव खड्किएको उनको भनाइ छ । सामान्य अवस्थामा ४० प्रतिशतजति मात्रै उत्पादन गर्ने उद्योगलाई सिलिन्डर पर्याप्त भए पूर्ण क्षमतामा उत्पादन गर्न कुनै गाह्रो नहुने सारडाले बताए ।

मोरङमा कोरोना संक्रमितको उपचार हुने बूढीगंगा गाउँपालिकाको विराट शिक्षण अस्पताल, विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र र नोबेल शिक्षण अस्पताल छन् । प्रत्येकमा दैनिक खपत हुने तीन सयभन्दा बढी सिलिन्डर अक्सिजन उद्योगबाटै आपूर्ति हुन्छ । अरु अस्पतालबाट पनि अक्सिजनको माग भइरहेको हुन्छ । नोबेल अस्पतालका निर्देशक डा. राजेश नेपालले अस्पताल आफैले अक्सिजन उत्पादनको तयारी अन्तिम चरणमा पु¥याइसकेको जानकारी दिए । अक्सिजन प्लान्ट सञ्चालनमा आइसकेपछि भने नोबेल आत्मनिर्भर बन्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *