राजनीति

राजधानी सार्ने प्रस्तावको विरोधमा रुपन्देहीका व्यवसायी आन्दोलनमा

बुटवल । प्रदेश नं ५ को स्थायी राजधानीका लागि प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको प्रस्तावको विरोधमा आज रुपन्देहीका विभिन्न स्थानमा बिहानैदेखि सडकमा उत्रेर प्रदर्शन भएका छन्। राजधानी सार्ने प्रस्तावको विरोधमा यहाँका निजी क्षेत्रका व्यावसायिक सङ्घसंस्था आन्दोलनमा उत्रिएका हुन्। 

जिल्लाका विभिन्न सङ्घसंस्थाले आह्वान गरेको प्रदर्शन बुटवल राजमार्ग चौराहाबाट सुरु भएर ट्राफिक चोकमा पुगी कोणसभामा परिणत भएको थियो। कोणसभामा नेपाल च्याम्बर अफ कमर्सका केन्द्रीय सदस्य टङ्प्रसाद पोखरेलले सरकारले रुपन्देहीलाई नै स्थायी राजधानी नबनाएर अन्यत्र लैजान संसद्मा प्रस्तुत गरेको प्रस्तावका विपक्षमा मतदान गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरे। उनले जनताको अभिमत महत्वपूर्ण हुने जनाउँदै जनताको साथ रहँदासम्म ढुक्क हुन र विपक्षमा उभिन आग्रह गरे।

उद्योग परिसङ्घका एजाज आलमले दाङलाई राजधानी बनाउन त्यस क्षेत्रका नेताहरु खुलेर लाग्दा रुपन्देहीलाई राजधानी बनाउनका लागि यस क्षेत्रका प्रदेशसभा सदस्य खुल्न नसकेका भनी आपत्ति व्यक्त गरे।

कार्यक्रममा रुपन्देही उद्योग सङ्घका कार्यबाहक अध्यक्ष माधव पौडेल, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, रुपन्देही व्यापार सङ्घका अध्यक्ष यमलाल लोहनी, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष खिमबहादुर हमाललगायतले बुटवलबाट राजधानी सार्ने प्रस्तावको विपक्षमा मतदान गर्न आग्रह गरे।

यस्तै राजधानी सार्ने प्रस्तावको विरोधमा नेपाली काङ्ग्रेस रुपन्देहीले आह्वान गरेको जिल्ला बन्दले यहाँको जनजीवन प्रभावित भएको छ। कोरोनाका कारण राम्रोसँग सहज हुन नसकेको सर्वसाधारणको जनजीवन बन्द तथा अन्दोलनले झनै प्रभावित भएको छ। बन्दका कारण व्यापारव्यवसाय पूर्ण बन्द छन्। यस्तै सार्वजनिक यातायात पनि अधिकांश सञ्चालनमा आउन सकेका छैनन्। सडकमा साना सवारी साधन भने निर्बाध चलेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *