Top News

उपत्यकामा मेलम्चीको पानी रोकिने

काठमाडौँ, २० जेठ। काठमाडौँ उपत्यकामा साउन १ गतेदेखि झन्डै एक महिना मेलम्ची खानेपानी आयोजनाको पानी नआउने भएको छ । सुरूङ परीक्षणका लागि पानी बन्द गर्नुपर्ने अवस्था आएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

तीन महिना परिक्षणकै क्रममा पानी पठाईरहेको र उक्त अवधि समाप्त भएकाले पानी नआउने भएको हो। सुरूमा पानी परीक्षण गरिएको फागुन १० गतेबाट हो। असार १ गतेदेखि सुरूङ खाली गर्न सुरू गरिने छ । पानी खाली गराउन पन्ध्र दिन लाग्नेछ । निरीक्षण गर्न १० दिन लाग्ने छ । जुन अवधिमा पानी पठाउन समस्या हुने छ ।

आयोजनाका डिभिजनल इञ्जिनियर राजेन्द्र पन्तका अनुसार ठेक्का सम्झौता समापन पनि गर्नुपर्ने बेला भएको छ । त्यसकारण एक पटक सुरूङ परीक्षण जरुरी भएको छ । ‘सुरूङमा कुनै त्रुटि नरहे ११ दिन पछिबाट पानी पठाउन थालिने उहाँको भनाइ छ।

ठेक्का सम्झौता अनुसार सुरूङमा समस्या रहेको देखिए निर्माण कम्पनीले नै मर्मत गर्नुपर्ने प्रावधान छ । अहिले मेलम्ची खानेपानी आयोजनाबाट १७ करोड लिटर काठमाडौं उपत्यकामा आइरहेको छ। त्यो पानी नआउँदा अभाव रहने भएको छ।

यो अभाव टार्ने उपाय भनेको पुरानो वितरण प्रणालीबाट आउने पानी हो । त्यसले अभावलाई केही हदसम्म मात्र टार्ने काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.