राजनीति

बडादशैँको दोस्रो दिनः ब्रह्मचारिणीको विशेष पूजा गरिंदै

काठमाडौं । बडादशैंअन्तर्गत आज नवरात्रको दोस्रो दिनमा शक्तिपीठहरूमा माता भगवती ब्रह्मचारिणीको विशेष पूजाअर्चना गरिंदै छ । ब्रह्मचारिणी देवीलाई ब्रहम विद्या शक्तिकी माताको रूपमा पूजाअर्चना गर्ने प्रचलन छ । ब्रह्मचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचार्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ ।

सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव चोला सार्थक बनाउन साधकलाई ब्रह्मचारिणी देवीको अनुकम्पा आवश्यक हुने बताइएको छ । ब्रह्मचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ । साधकहरु आजको दिन आफ्नो मनलाई माता ब्रह्मचारिणीको चरणमा धयान लगाउँछन् । ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ । तपस्याको आचरण गर्ने देवीकाका रुपमा ब्रह्मचारिणीलाई लिइन्छ ।

ब्रह्मचारिणी देवीको दाहिने हातमा जपको माला र देब्रे हातमा कमण्डलु हुन्छ । ब्रह्मचारिणी माता पार्वतीको विवाहपूर्वको अवस्थाको रुपमा चर्चा गरिएको छ । पार्वतीको यो रुपलाई ब्रह्मचारिणी, तपस्वी तथा योगिनी पनि भनिएको देवीभागवत लगायतका ग्रन्थहरुमा उल्लेख छ । माता ब्रह्मचारिणी देवीको कृपाले तपस्वीको सर्वत्र सिद्धि र विजय प्राप्त हुने मान्यता हिन्दू शास्त्रहरुमा छ । आज विवाह नभएका कुमारीहरुको पूजा गर्ने प्रचलन छ । कन्याहरुलाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले खाने प्रचलन छ ।

शास्त्रहरुमा ब्रहमचारिणीलाई वदनवर्ण कलेजी रङको रहेको भनेर वर्णन गरिएको छ । देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा छ । नव दुर्गामध्ये पहिलो दिन शैलपुत्रीको पूजा आराधना गरिन्छ भने दोस्रो दिन ब्रह्मचारिणीको स्तुति गर्ने चलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *