Featured Slider अर्थ स्वास्थ्य

कोरोना नियन्त्रणका लागि ९ अर्ब ६१ करोड खर्च

काठमाडौं,२७ जेठ । कोरोना संक्रमण रोकथाम, नियन्त्रण, व्यवस्थापन तथाद उपचारमा तीनवटै तह (संघ, प्रदेश र पालिका)का सरकारले ९ अर्ब ६१ करोड रुपैयाँ खर्च गरेका छन् । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आवको १० महिना (वैशाखसम्म)को अवधिमा केन्द्र, प्रदेश र स्थानीय सरकारको उक्त रकम खर्च भएको हो ।

सो अवधिमा कोभिड प्रतिकार्यका लागि तीनवटै तहका सरकारको प्राप्ति तथा विनियोजन गरी कुल १५ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । त्यसमध्ये संघीय कोरोना कोष र संघीय बजेट प्रणालीबाट भएको विनियोजन र खर्च सबैभन्दा बढी छ ।

संघीय कोरोना कोष र संघीय बजेट प्रणालीको वैशाखसम्मको प्राप्ति÷विनियोजन ८ अर्ब २१ करोड रुपैयाँ रहेकोमा खर्च ५ अर्ब २१ करोड रहेको छ । यस्तै प्रदेश सरकारको प्राप्ति तथा विनियोजन १ अर्ब १३ करोड रुपैयाँ रहेकोमा ३ करोड खर्च भएको छ । साथै सोही अवधिमा स्थानीय तहको प्राप्ति तथा विनियोजन ६ अर्ब २० करोड रुपैयाँ रहँदा भने २ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको छ ।

कोरोना महमारी रोकथाम, नियन्त्रण तथा उपचारका लागि तीनवटै तहले गत आर्थिक वर्षदेखि सो अवधिसम्ममा गरेको खर्च भने २३ अर्ब १५ करोड रुपैयाँ रहेको छ । उक्त अवधिमा कुल प्राप्ति तथा विनियोजन ३४ अर्ब १० करोड रहेकोमा वैशाखसम्मको तथ्यांकले १० अर्ब ९५ करोड रुपैयाँ खर्च हुन बाँकी रहेको देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *