अर्थ

लगनखेल बजारका अधिकांश मासु पसल मापदण्डविपरीत

ललितपुर । लगनखेल बजारका अधिकांश मासु पसल मापदण्डविपरीत भेटिएका छन् । ललितपुर महानगरपालिकाका प्रतिनिधिले शनिबार लगनखेलमा गरेको बजार अनुगमनका क्रममा ती पसल मापदण्डविपरीत पाइएको हो ।

महानगरपालिकाका पशु चिकित्सक राजेन्द्र विष्टले लगनखेलका सात मासु पसलको अनुगमन गर्दा अधिकांश पसलले बिक्रीस्थल सफा नराखेको, मासु राख्ने फ्रिजहरु फोहर भएका र गन्हाउने मासु पनि भेटिएको बताए । उनले भने, ‘हामीले व्यापारीलाई सात दिनभित्र यी पसल सफा सुग्घर गरेर सञ्चालन गर्न निर्देशन दिएका छौं ।’ 

उपप्रमुख गीता सत्यालले कोरोना महामारीको यस जटिल अवस्थामा बजारहरु कसरी सञ्चालन भइरहेका छन्, ग्राहक र व्यापारीले भौतिक दूरी कायम गरेका छन् या छैनन् र गुणस्तरीय सामग्री पनि बिक्री भएका छन् या छैनन् भनेर निरन्तर छड्के अनुगमन गर्ने योजना बनाएको जानकारी गराए । 

यसैगरी महानगरपालिकाका अनुगमन टोलीले कतिपय ठाउँमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको, मापदण्ड पूरा नगरी दैनिक उपभोग्य सामग्री बिक्री वितरण भइरहेको, व्यवसायीले हरेक सामग्री किनेका र बेचेका विवरण पारदर्शी तरिकाले नराखेको र भ्याट बिल तिरेर सामान नकिनेको समेत फेला पारेको बताएका छन् ।

ललितपुरमा शुक्रबारबाट सुरु भएको बजार अनुगमनमा विभिन्न फेन्सी, औषधि, खाद्य तथा दैनिक अत्यावश्यक उपभोग्य वस्तुको अनुगमन भइसक्यो । महानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर ललितपुरमा निरन्तर बजार अनुगमन गर्ने जनाएको छ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *