Featured Slider खेलकुद

फिनल्यान्डद्वारा डेनमार्क १-० गोल अन्तरले पराजित

एजेन्सी – युरोपेली च्याम्पियनसिपमा डेब्यु गरिरहेको फिनल्याण्डले समूह बी को पहिलो खेलमा डेनमार्कलाई पराजित गरेको छ । डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन मैदानमा अचेत भएर लडेपछि झन्डै डेढ घण्टा रोकिएको खेलमा फिनल्याण्डले १-० को जित दर्ता गरेको हो ।

पहिलो हाफको ४३ औं मिनेटमा डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन एक्कासी मैदानमा लडेर अचेत भएपछि रेफ्रीले तत्काल स्वास्थ्य टिम मैदान बोलाएका थिए । बल उनको स्थानसम्म नआउँदै एक्कासी ढलेका एरिक्सनलाई मैदानमा स्वास्थ्य टोलीले सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन) पनि दिएका थिए । झन्डै १५ मिनेट मैदानमा नै उपचार गरेपछि उनलाई स्ट्रेचरमा मैदान बाहिर लागिएको थियो ।

मैदानबाट बाहिर लग्ने क्रममा नै एरिक्सनको होस आएको थियो । उनलाई थप उपचारका लागि नजिकैको अस्पताल लागिएको थियो । अस्पतालबाट उनले आफ्नो सहकर्मीलाई भिडियो कलमार्फत कुरा गर्दै खेल सुचारु गर्न भनेका थिए । दुवै टोलीसँग यूईएफएले छलफल गरेपछि खेल झन्डै डेढ घण्टापछि सुचारु भएको थियो ।

पहिलो हाफको ४३ औं मिनेटमा रोकिएको खेल सोहि स्थानबाट सुरु भएको थियो । रेफ्रीले पहिलो हाफको ४ मिनेट खेलाएर हाफ टाइमस्वरूप ५ मिनेट दिएपछि दोस्रो हाफ सुरु भएको थियो ।

खेलको ५९ औं मिनेटमा जोल पोहान्पालोले गोल गर्दै फिनल्याण्डलाई अग्रता दिलाए । उनले जेरे उरोनेनको क्रसमा गरेको हेडर गोलरक्षक कास्पर स्माइकलको हातमा लाग्दै गोल भएको थियो । पहिलोपटक ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको फिनल्याण्डका खेलाडीले गोलको खुसी भने मनाएका थिएनन् ।

खेलको ७३ औं मिनेटमा डेनमार्कले पेनाल्टी प्राप्त गर्यो । पओलोस अराजुरीले पेनाल्टी क्षेत्रभित्र युसुफ पौल्सेनलाई लडाएपछि प्राप्त पेनाल्टीमा पिएर इमिल होएबिएर चुक्न पुगे । होएबिएरले आफ्नो दायाँतर्फ गरेको प्रहारलाई गोलरक्षक लुकास ह्राडेच्कीले सहजै बचाएका थिए ।

यस जितसँगै फिनल्यान्डले समूहमा ३ अंक जोडेको छ । अब फिनल्यान्डले समूहको अर्को खेलमा बुधबार रुसको सामना गर्नेछ । डेनमार्कले बिहीबार दोस्रो खेलमा बेल्जियमसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published.