अर्थ

दशैंका लागि खसी, बोका, भेंडा, च्याङ्ग्रा किन्दै हुनुहुन्छ ? रातो हैन हरिया छान्नुहोस्

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपभोक्तालाई सिङमा हरियो रङ भएका खसी, बोका, भेंडा, च्याङ्ग्रा जस्ता चौपाया खरीद गर्न आग्रह गरेको छ । बडादशैँका लागि काठमाडौं ल्याइएका निरोग खसी-बोका तथा भेंडा-च्याङ्ग्राको सिङमा हरियो र रोगीलाई रातो लगाइने गरेको छ ।

कामपा पशु सेवा विभागले मासुका लागि चौपाया बिक्रीवितरण हुने स्थानमा पुगी दशैँका लागि बिक्रीका लागि राखिएका चौपायाको स्वास्थ्य परीक्षण गर्दा ज्वरोे आए/नआएको, नाकबाट सिँगान बगे/नबगेको, झोक्राएको÷नझोक्राएको, पातलो दिसा भए/नभएको, चोटपटक भए÷नभएको जस्ता सामान्य स्वास्थ्यावस्थाका विषयमा पशु चिकित्सकले परीक्षण गरेपछि सिङमा रङ लगाउन थालेको छ ।

ती चौपायाको स्वास्थ्य जाँचका लागि महानगरबाट शनिबारदेखि महाष्टमीसम्म तीन टोली परिचालन भएका छन् । माछामासुजन्य खाद्यवस्तु तथा दूध र दुग्धजन्य खाद्यवस्तुको नमूना संकलन गर्ने र प्रयोगशालामा परीक्षण गरेर यसको स्वच्छता कायम गराउने काम बजार निरीक्षणका क्रममा हेरिनेछ ।

चौपाया खरीदबिक्री प्रालिका अध्यक्ष जनककुमार खड्काका अनुसार काठमाडौंमा ६० हजार खसीबोकाको माग भयो भने पूरा गराउन सकिन्छ । चौपाया ल्याउन सकिने अवस्था छ । ल्याएर बिक्री हुन्छ कि हुँदैन भन्न सकिने अवस्था छैन । काठमाडौंको ठूलो खसी बजार भनेको कलंकी हो ।

बन्दाबन्दीपूर्व सो बजारमा कक्ष लिएर व्यापार गर्ने २९ व्यापारी थिए । कोरोनाका कारण तीमध्ये १६ व्यवसायीले व्यापार छाडे ।

कामपाका कलंकी र टुकुचामा खसी बजार छ । यसै गरी बडादशैँका बेला काठमाडौं आकाशेधारा, कपन, चाल्नाखेल र चन्द्रागिरि, भक्तपुरका लोकन्थली र सल्लाघारी तथा ललितपुरको लगनखेलमा पनि चौपाया बजार लाग्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *