Featured Slider पालिका खबर

बरञ्जा जोड्ने नमूना सडक स्तरोन्नति

म्याग्दी,५ असार । जिल्लाको मङ्गला गाउँपालिकाको वडा नम्बर ३ र ४ मा पर्ने बरञ्जालाई पालिकाको केन्द्र बाबियाचौर जोड्ने पोक–बरञ्जा सडक स्तरोन्नति भएको छ । विस.२०७५ मा गाउँपालिकाले ट्रयाक खोलेको पोक–सातबिसे–ज्यामिरे–तोरीडाँडा–खस्रुपानी–३ न. वडा कार्यालय हुदै ४ नम्बर वडाको कार्यालय रहेको बुकेनी जोड्ने सडकको ज्यामीरे, ३ नम्बर वडा कार्यालय, पहिरो खोरीया, खस्रुपानी र तोरीडाडा क्षेत्रमा स्तरोन्नति गरिएको हो ।

रु दुई करोड ८० लाख ९८ हजार ३२४ मा गत माघमा ठेक्का सम्झौता गरेको देब एण्ड सायर–तिलक जेभीले निर्धारित समयभित्रनै काम सकेको जनाएको छ । असार महिनासम्म ठेक्काको म्याद भएपनि जेठमै काम सकिएको देब एण्ड सायर तिलक जेभीका साइट इञ्चार्ज लालबहादुर रोकाले बताउनुभयो ।

“सडक फराकिलो बनाउने, ग्यावीयन, मेसिनरी पर्खाल, नाली निर्माण, ग्रेड र मोड सुधार गरिएको छ”, उहाँले भन्नुभयो, “कोरोनाको जोखिम र निषेधाज्ञाको असहज अवस्थामा पनि पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री जुटाएर लक्ष्य अघिनै सडक निर्माण गरेका हौ ।”

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले निर्माण ब्यवसायीले गरेको कामको अन्तिम भुक्तानीका लागि अनुगमन मूल्याङ्कनको चरणमा रहेको बताउनुभयो । पहिराले भत्काएको ठाउँमा मर्मत गर्न लगाइएको छ ।

गत वर्ष रु एक करोड ८३ लाखमा यो सडकको पोक देखि ज्यामीरे हुदै पहिरो खोरीया क्षेत्रमा स्तरोन्नति गरिएको थियो । राष्ट्रिय योजना आयोग र गाउँपालिकाको साझेदारीमा यो सडक स्तरोन्नतिका लागि बहुवर्षे क्रमागत आयोजना सञ्चालन गरिएको अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । बाह्ै महिना नियमित यातायात सञ्चालन गर्ने लक्ष्य सहित ग्रामिण क्षेत्रको नमूना सडक आयोजना सञ्चालन गरिएको हो । यसअघि तीन देखि चार मिटर चौडा भएको सडकलाई विस्तार गरेर सात मिटर फराकिलो बनाइएको छ । मापदण्ड अनुसारको मोड र ग्रेड बनाइएको प्राविधिक विपिन आचार्यले बताउनुभयो ।

साबिक बरञ्जा गाबिसमा पर्ने ३ र ४ नम्बर वडाका बासिन्दाको गाउँपालिकाको केन्द्र बाबियाचौर बजारसँग सहज पहुँच स्थापित गराउन यो सडकलाई प्राथमिकता दिएको छ । यो सडकबाट एक हजार भन्दा बढी घरधुरी लाभान्वित हुने भएका छन् । यो गाउँपालिकाको गौरवको आयोजना हो । पोकदेखि बुकेनीसम्मको दूरी ६ किलोमिटर छ । पहिरो र भू—क्षय रोकथामका लागि बिस्तार गरिएको सडक छेउछाउमा अम्रिसो, राइखन्यु लगायत घाँसका विरुवा रोपिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *